श्रीमान् खोज्दै जाँदा जब सौता फेला परिन्

पोखरा — सँगै जुग कटाउने आसमा जीवनसाथीलाई जोवन सुम्पिएकी मनिका माझीको सपना एक्कासि गर्ल्यामगुर्लुम्म ढल्यो, जब दुई जिउकी बनाएर अलपत्र छाडेका श्रीमान् खोज्दै जाँदा घरमा अर्की श्रीमती भएको पत्ता लाग्यो। तिनै श्रीमान् सुत्केरी मनिकालाई अस्पतालमै छाडेर सम्पर्कविहीन भए। पाँच महिनाकी छोरी लिएर मनिका अब न माइत जान सक्छिन्, न घर।

आमा बितेर बुबाले अर्की ल्याएपछि रामेछापकी मनिका ८ पढ्दापढ्दै काठमाडौं झरेकी थिइन्। त्यहाँ खाद्यान्न पसलमा काम गरिन्। गत वर्ष उनको भेट तनहुँका बलबहादुर सुनारसँग भयो। खाद्यान्न ओसार्ने गाडीमा काम गर्ने बलबहादुर र मनिकाको माया बस्यो।

गत वर्षको जेठमा बिहे गरे। बलबहादुरको मोबाइलमा एक महिलाको फोन आइरहन्थ्यो। बलबहादुरले बहिनी भनेर चिनाउँथे। मनिका ग’र्भवती भइन्। मंसिरमा बलबहादुर एक्कासि हराए।

मनिकासँग खाने खर्च पनि थिएन। श्रीमान् सम्पर्कविहीन भएपछि उनले जेठानी दिदीलाई फोन गरिन्। भाडाको कोठा नजिकै बस्ने बुटवलकी एक महिलाले गाडी भाडाको जोहो गरिदिइन्। ग’र्भवती भएको सात महिना चल्दै गर्दा उनी श्रीमान् खोज्दै तनहुँको काहुँ शिवपुर पुगिन्। घर पुगेपछि उनी झल्याँस्स भइन्। बलबहादुरको घरमा पहिले नै अर्की श्रीमती रहिछन्। त्यसअघि पनि बलबहादुरले अर्की महिलालाई बिहे गरेर छाडेको थाहा भयो।

मनिकालाई हिँडडुल गर्न गाह्रो हुन्थ्यो। उनको त्यस्तो अवस्था देखेपछि बलबहादुरकी आमाले छोरालाई हकारिन्। काठमाडौंदेखि तनहुँसम्मको लामो र केही कच्ची बाटोको यात्राले मनिकालाई धपेडी भयो। सात महिनामै बेथा लाग्यो। श्रीमान् र सासूले उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए। मंसिर २१ मा उनले अप्सरालाई जन्म दिइन्। अप्सराको तौल १ किलो ३ सय ग्राममात्रै थियो। अस्पतालले राख्नुपर्छ भन्दाभन्दै १५ दिनमै मनिकाको डिस्चार्ज भयो। श्रीमान्‌ले ज’बर्जस्ती घर लिएर गएको मनिका बताउँछिन्।

Loading...
प्रकाशित मिति १२ बैशाख २०७७, शुक्रबार १२:१६