साउदीमा नेपाली कामदारलाई झुक्काएर घर फर्किने पेपरमा सही छाप

साउदी / साउदी अरबमा केही कम्पनीले कामदारलाई झुक्काएर अरेबिक भाषामा लेखिएका कागजातमा बेतलबी बिदाको लागि मन्जुरी रहेको भनेर सही छाप गर्न लगाइएको खुलासा भएको छ ।

कोरोना भाइरसको महामारीले धेरै कम्पनीहरूले आफ्ना कामदारलाई दिनुपर्ने तलब, आवासीय सुविधा र खाना भत्ताको उपलब्धताबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै केही कम्पनीहरुले कामदारलाई झुक्काएर मन्जुरी गराएको साउदीस्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

साउदी सरकारले कामदारको सहमति बिना कामदारको तलब कटौती गर्ने तथा बेतलबी बिदा बस्न बाध्य पार्न नपाउने जनाउदै महावाणिज्य दूतावासले नेपाली नागरिकहरूले टेलिफोन सम्पर्कबाट जानकारी गराए बमोजिम केही कम्पनीहरूले अरेबिक भाषामा लेखिएको कागजातमा बेतलबी बिदाको लागि कामदारको मन्जुरी रहेको भनेर सही छाप गर्न लगाएको पाइएको छ।

यहाँ कार्यरत सबै नेपाली नागरिकहरुलाई कम्पनीले उपलब्ध गराएको यस्तो प्रकृतिका कागजातमा सही छाप नगर्न र कम्पनीले सही छाप गर्न बाध्य पारेमा दूतावासमा सम्पर्क गर्न महावाणिज्यदूतावास हार्दिक अपिल गरेको छ । कम्पनीको काम निरन्तररुपमा सञ्चालन भए कम्पनीले उपलब्ध गराएका सावधानीका सम्पूर्ण उपाय अपनाउन र काम बन्द भएर आवासमा रहेको अवस्था भए बाहिर ननिस्कन पनि महावाणिज्य दूतावासले आग्रह गरेको छ ।

साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या १०४८४ पुगेको छ भने हालसम्म १४९० जना निको भएर घर फर्किसकेका छन् । हालसम्म १०३ जना संक्रमितको मृत्यु भएको छ ।

थप नेपालीहरुमा संक्रमण भएको आधिकारिक जानकारी नआएको दूताबासले जनाएको छ । साउदीमा संक्रमण हुने मध्ये विदेशी नागरिकहरु ७३ प्रतिशत र साउदी नागरिक २७ प्रतिशत रहेको छ ।

Loading...
प्रकाशित मिति १२ बैशाख २०७७, शुक्रबार १८:५१