यस्ता कडा चट्टान रहेको भिरमा सेनाले खोल्यो कालापानी जाने बाटो

काठमाडौं । नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो। भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिकाको वडा नं १ छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो।

चार महिना बढी समय लगाएर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्र्याक खुलाएको हो। मौसम प्रतिकुल नहुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्र्याक खुलाउने काम ढिलाइ भएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए। ुभिर फुटाएर ट्र्याक खुलाइएको छु, उनले भने ‘सफाइ गर्ने काम एक दुई दिनभित्र सकिन्छ।

यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज भएको छ। व्यासको छांगरु र तिंकरका बासिन्दा कार्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्ने गर्छन्। व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ। चट्टानी भूगोलले केहि ढिलाइ भए पनि स्थानीयका लागि सहजरुपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको व्यास–२ का बासिन्दा हरकसिंह कार्कीले बताए। घाँटीबगरमा सेनाले बनाएको बाटोमा ट्र्याक राम्रो खुलेको र त्यो बाहेकका अन्य चार पाँच ठाउँमा पुनः बाटो अवरुद्ध भएको उनले बताए।

घाँटीबगरमा सेना बसेको क्याम्पको तल ठूलो पहिरो गएको छ। त्यो क्षेत्रमा पनि आवतजावत गर्न निकै सास्ती भएको व्यासको तिंकर पुगेर खलंगा फर्किनुभएका कार्कीले जानकारी दिनुभयो। तलतिरको बाटो नखुलाएसम्म अहिले नै व्यासी कुञ्चा सर्न सक्दैनन्। तम्बाकुमा व्यास गाउँपालिकाको बजेटमार्फत बाटो खुलाउने काम भए पनि कडा चट्टानी भाग भएका कारण खुल्ने सम्भावना छैन्।

यो क्षेत्रमा अहिले पनि तारको सहारामा चट्टानी भूभागमार्फत नदी पार गर्नुपर्ने उनको भनाइ छ। यस्तै तम्बाकु नजिकको नयाँ निर्माण गरिएको बाटो सबै भत्किएको छ। कल्जुगाडमा झोलुंगे पूल बगाएको छ भने कल्जगाड भन्दा तल र माथि बाटो भत्किएको छ। सबै ठाउँमा बाटो निर्माण गर्न सके मात्र सहजरुपमा व्याससम्मको बाटो खुल्ने उनले बताए। तम्बाकु भन्दा तलतिर बाटो नहुँदा व्यासबाट फर्किने भेडा व्यवसायी अहिले बुदिमै रोकिएका छन्।

Loading...
प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार ०५:१२