दैवपनि कति निष्ठुरी: पोखरामा जन्मने बितिकै एक शिशुमा कोरोना देखियो !

पोखरामा – पोखरामा २० घण्टाको नवजात शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ ।पोखरा महागनरपालिका ४ का शिशुमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एनआइसियुमा भर्ना गरिएको छ ।निर्देशनालयले बुधबार दुई वटा विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

निर्देशनालयका अनुसार बुधबार थपिएका सहित प्रदेशमा जम्मा संक्रमितको संख्या तीन हजार आठ सय ६६ पुगेको छ । संक्रमितमध्ये प्रदेशमा अहिलेसम्म दुई हजार सात सय ३५ जना भने निको भइसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या एक हजार ९८ छ ।

प्रदेशमा अहिलेसम्म ६८ हजार नौ सय ७५ जनाको पिसिआर विधिबाट परीक्षण भइसकेको छ । कोरोना संक्रमणका कारण अहिलेसम्म यहाँ ३३ जनाले ज्यान गुमाएका छन् ।

कर्मचारीमा कोरोना सङ्क्रमणः वैदेशिक रोजगार कार्यालयको सेवा बन्द
कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचल काठमाडौंको सेवा बन्द गरिएको छ ।

कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएपछि अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । आजदेखि श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकिएको एक सूचना जारी गर्दै कार्यालयले जनाएको छ ।

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक रोजगार खुला गरेसँगै पछिल्ला केही दिनयता कार्यालयमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दै गएको थियो । कार्यालयले यही असोज १ देखि १३ गतेसम्म दुई हजार ९२७ पुरुष र १८९ महिला गरी तीन हजार ११६ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।

Loading...
प्रकाशित मिति १४ आश्विन २०७७, बुधबार १०:५९