फेरी बढ्यो कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या, कोरोनाबाटै नेपालमा पहिलोपटक डाक्टरको मृत्यु

काठमाडौँ । नेपालमा फेरी बढ्यो कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेकाे छ । पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेकाे छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुने सुनसरीका ३ पुरुष,काठमाडौँका २ पुरुष,भक्तपुरका १ पुरुष, ललितपुरका १ पुरुष,बाँकेकी १ महिला र रुपन्देहीका ३ पुरुष छन् । संक्रमित हुनेबाट भएको मृत्यु ० दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक डाक्टरको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका- ३ घर भएका ५९ वर्षका डाक्टरको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

भदौ २९ गते संक्रमण पुष्टि भएका उनलाई श्वास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा असोज १ गते भर्ना गरिएको थियो । प्लाज्मा थेरापी विधिका साथै रेमडेसिभरको समेत प्रयोग गरेर उनको उपचार गरिएको भएपनि बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि बिहान ९ बजे उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गरिरहेकै समयमा बिहीबार दिउँसो ३ः१० बजे उनको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिए । उनी कर्णाली प्रदेश अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन समेत रहेको खड्काले बताए ।

पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका मात्र ९४३ जनामा कोरोना संक्रमण भएको छ । काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जनामा सं‌क्रमण भएको मन्त्रालयले जनाएको छ ।

Loading...
प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार १२:५५