प्रदेश ५ को राजधानी दाङ ! प्रचण्ड र ओलीबीच भयो गोप्य सहमति

काठमाडौं । लामो समय देखि तोक्न नसकिएको प्रदेश ५ राजधानीका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा० मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो ।

प्रदेश सांसद र नेकपाका मुख्य नेताहरुबीच सहमति जुट्न नसक्दा प्रदेश ५ को राजधानीका बारेमा निर्णय हुन सकेको छैन । नेकपाका नेता र सांसदहरुबीचमा कुरा मिल्न नसकेपछि मुख्यमन्त्री शंकर पोखरेलले त्यसको टुंगो नेकपाको सचिवालयवाट लगाउन आग्रह गरेका थिए ।

रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद भएका कारण पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पोखरेलले गरेको आग्रह बमोजिम दुई नेताहरुबीच यस्तो सहमति भएको हो । मुख्यमन्त्री पोखरेल पनि दाङमा राजधानी बनाउने पक्षमा थिए ।

पूर्वमाओवादी पनि दाङमा राजधानी राख्ने पक्षमा रहेर निर्वाचनमा सोही विषयलाई समेत एजेण्डा बनाएको थियो । पूर्वएमाले खेमाभित्र नै राजधानी दाङ राख्ने कि बुटवलमा राख्ने भन्नेबारे नेताहरुको मत बाझिँदै आएको थियो ।

शंकर पोखरेललगायतका नेताहरु दाङलाई राजधानी बनाउनुपर्ने पक्षमा थिए भने महासचिव विष्णु पौडेललगायतका नेताहरु बुटवललाई राजधानी बनाउने पक्षमा भएका कारण सहमति जुट्न नसकेको हो । तर, अध्यक्षद्वयबीच दाङमै राजधानी राख्ने सहमति जुटेपछि अब चाँडै राजधानीको मुद्दा टुंगो लाग्ने नेकपा नेताहरुले बताएका छन् ।

Loading...
प्रकाशित मिति १६ आश्विन २०७७, शुक्रबार १०:०१