बिद्युत प्राधिकरण कर्मचारीको बदमासी : २,२११ पर्ने मिटर बक्स ३,८०० मा बिक्री !

तेह्रथुम, १६ असोज । आठराई गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणबाट २ हजार २ सय ११ रुपैयाँमा पाइने मिटर बक्सलाई नियम विपरित ३ हजार ८ सय रुपैयाँमा बिक्रि गरेको खुलेको छ ।

प्राधिकरणकै कर्मचारीले एउटा मिटरबक्सलाई झण्डै दोब्बर मूल्य बढाएर बिक्री गर्ने गरेको खुलेको हो । नेपाल विद्युत प्राधिकरण तेह्रथुम वितरण केन्द्रको आठराई फ्युज सेवाका प्रमुख विरेन्द्र सरदारले एउटा मिटर बक्सलाई ३ हजार ८ सय रुपैयाँ लिएर उपभोक्ताहरुलाई बिक्रि गरेको स्वीकार गरेका छन् ।

आठराई फ्युज सेवाका प्रमुख सरदारका अनुसार मिटरबक्सलाई २ हजार २ सय ११ रुपैयाँ,जडान खर्च ५ सय रुपैयाँ, मिटरबक्समा लाग्ने एमसीबीको ७ सय रुपैयाँ र ३ सय ८९ रुपैयाँ ढुवानी खर्च र फारम संकलन गर्ने व्यक्तिहरुको भत्ता सहित गरेर ३ हजार ८ सय रुपैयाँ लिएर उपभोक्तालाई मिटर बक्स उपलब्ध गराएको बताउनुभयो।

नेपाल विद्युत प्राधिकरण तेह्रथुम वितरण केन्द्रका अनुसार उपभोक्ताले एउटा मिटर बक्सको २ हजार २ सय ११ रुपैयाँ मात्र तिर्नु पर्छ । मिटरको १ हजार ७ सय १२ रुपैयाँ ३९ पैसा, सिलको १ सय रुपैयाँ, आवेदन फारमको ५० रुपैयाँ, सेवा शुल्क १०० रुपैया र भ्याट २ सय ४८ रुपैया ६१ पैसा गरी एउटा मिटर सेटको जम्मा २ हजार २ सय ११ रुपैयाँ मात्र उपभोक्तले तिनु पर्ने हुन्छ ।

मिटरबक्स जोड्दा कुनै पनि उपभोक्ताले जडान शुल्क तिर्नु नपर्ने विद्युत प्राधिकरण तेह्रथुम वितरण केन्द्रका प्रमुख प्रेमबहादुर भण्डारीले बताउनुभयो।

प्राधिकरणका कर्मचारीको सम्पूर्ण खर्च प्राधिकरणले गर्नुुपर्ने नियम रहेको र नियम विपरित उपभोक्तहरुबाट कुनै पनि शुल्क लिन नापाइने प्रमुख भण्डारीले स्पष्ट पार्नुभयो ।

आठराई फ्युज सेवाको कार्यालयमा दुईजना मात्र कर्मचारी भएको र दुईजना कर्मचारीले सबै काम गर्न नसक्ने भएकाले आफैले राखेका ११ जना कमदारलाई पारिश्रमिक दिनको लागि उपभोक्ताहरुबाट अतिरिक्त शुल्क लिएको फ्युज सेवा आठराईका प्रमुख सरदारको भनाई छ ।

कर्मचारीलाई व्यक्तिगत कामदार नियुक्ति गर्न कुनै कानुनले अधिकार नदिएको प्राधिकारण तेह्रथुमले जनाएको छ । मिटर बक्समा लाग्ने एमसीबी पनि फ्युज सेवाका कर्मचारीले नै स्थानीय बजार मूल्य भन्दा बढी शुल्क लिएर उपभोक्तालाई बिक्रि गर्ने गरेका छन् ।

स्थानीय बजारमा २ सय ५० देखि ४ सय मूल्य पर्ने एमसस्लीबीई फ्युज सेवा आठराईका प्रमुख सरदारले ७ सय मूल्यमा बिक्रि गरेको बताए । गाउँमा मिटरबक्सको आवेदन फारम संकलन गर्न फियुज सेवा आठराईले विभिन्न समिति बनाएको जनाएको छ ।

गाउँमा बनेका समितिले नै आवेदन फारम र मिटरबक्सको ३ हजार ८ सय रुपैयाँ संकलन गरेर फ्युज सेवा कार्यालयसम्म ल्याउने गरेको बताइएको छ ।

यता आठराई गाउँपालिका वडा नं। ६ चुहानडाडामा भने वडा कार्यालयबाट नै मिटरबक्सको ३ हजार ८ सय रुपैयाँ र आवेदन फारम संकलन भएको स्थानीय रामचन्द्र थपलियाले बताए ।

मिटरबक्सको मूल्य ३ हजार ८ सय रुपैयाँ नै भनेपछि वडा कार्यालयमा उक्त शुल्क र आवेदन फारम बुझाएको थपलियाको भनाई छ । वडामा आएको सबै आवेदन फारम र मिटरबक्सको ३ हजार ८ सय रुपैयाँ सम्बन्धित प्राधिकरणका कर्मचारीलाई बुझाएको वडा सचिव सुन्दर कन्दङवाले जनकारी दिए ।

उपभोक्ताहरुले तिरेको ३ हजार ८ सय रुपैयाको बिल अहिले पनि पाएका छैनन् । आर्थिक वर्ष २०७६\०७७ मा आठराई गाउँपालिका वडा नं.१ संक्रान्तिबजारमा १०० घर, वडा नं.२ खाम्लालुङमा ११० घर,वडा नं.४ ईवामा ४५ घर, वडा नं.५ छातेढुङ्गामा २५० घर र वडा नं.६ चुहानडाँडामा १५० घर गरी ६५५ घरमा मिटर बक्स जोडिएको आठराई फ्युज सेवाले जनाएको छ ।

आठराईमा तेह्रथुमको जिरीखिम्ती सवस्टेसन हुदै मिन्छायेम गाउँपालिकाको मोराहाङ फिडरबाट ११ केभी विद्युत लाईन विस्तारको काम भईरहेको छ ।

Loading...
प्रकाशित मिति १६ आश्विन २०७७, शुक्रबार १०:०७