दैवपनि कति निष्ठुरी: पोखरामा जन्मने बितिकै एक शिशुमा कोरोना देखियो

पोखरामा २० घण्टाको नवजात शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महागनरपालिका ४ का शिशुमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एनआइसियुमा भर्ना गरिएको छ । निर्देशनालयले बुधबार दुई वटा विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

निर्देशनालयका अनुसार बुधबार थपिएका सहित प्रदेशमा जम्मा संक्रमितको संख्या तीन हजार आठ सय ६६ पुगेको छ । संक्रमितमध्ये प्रदेशमा अहिलेसम्म दुई हजार सात सय ३५ जना भने निको भइसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या एक हजार ९८ छ ।

प्रदेशमा अहिलेसम्म ६८ हजार नौ सय ७५ जनाको पिसिआर विधिबाट परीक्षण भइसकेको छ । कोरोना संक्रमणका कारण अहिलेसम्म यहाँ ३३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति ३० आश्विन २०७७, शुक्रबार ०३:२५