दुर्घटनाका घाइतेलाई नदेखी हुइँकिए प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

सोमबार दिँउसो ३:५० बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको बेलबारी भन्ने ठाउँमा दुर्घटना भयो ।

स्कुटर दुर्घटना भएर दुईजना छटपटाइरहेको अवस्थामा साइरन बजाउँदै गाडी आए । त्यहाँ जम्मा भएका व्यक्तिले ती गाडी रोकेर दुर्घटनामा घाइते भएकालाई अस्पताल लैजान खोजे । तर सुरक्षाकर्मीको गाडीसहित आएको उक्त साइरनवाला गाडी रोकिएन ।

अघिपछि सुरक्षाकर्मीको स्कर्टिङमा हिँडेको गाडी भित्र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सवार थिए । बाटोमा जम्मा भएका केही व्यक्तिले उक्त गाडी रोक्न खोजे तर । तर सवारी रोकिएन । ‘चाडो अस्पताल पुर्‍याउन सकिन्छ कि भनेर कोशिस गरेँ । तर साइरनवाला गाडीले सुन्दै सुनेन’ त्यहाँ उपस्थित बेलबारीका जनक पोखरेलले भने ‘पछि थाहा पाए मुख्यमन्त्रीको सवारी रहेछ ।’

मुख्यमन्त्रीको सवारी भएको करिब १० मिनेटपछि मात्र प्रहरी आएर उद्धार गरेको उनले बताए । जनक भन्छन्, ‘उहाँले उद्धार नगरेपनि अगुवा पछुवालाई भनेको भए समयमा नै अस्पताल पुर्‍याउन सकिन्थ्यो ।’

मुख्यमन्त्री शेरधन राई झापाको कार्यक्रमबाट फर्कदै गर्दा उनलाई इलाका प्रहरी कार्यालय पथरीको गाडीले स्कर्टिङ गरेर ल्याएको थियो ।

दुर्घटनामा बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र उनका छिमेकी ६३ वर्षीय दुर्गा भण्डारी घाइते भएका थिए । अस्पतालमा खत्रीको मृत्यु भएको छ । भण्डारीको विराटनगरमा उपचार भइरहेको छ ।

मुख्यमन्त्रीको गाडी नरोकिएपनि अगाडी पछाडी रहेका सुरक्षाकर्मीको गाडीले दुर्घटनामा परेका व्यक्तिलाई उद्दार गर्न सक्थे तर त्यहाँ त्यस्तो देखिएन । -ktmdainik

प्रकाशित मिति ६ पुष २०७७, सोमबार १६:५२