दुई बैठकमा एकातिर सहभागी भएका यि नेता दम्पत्ती ‘जनताको पैसा खाइन्न बरु भोकै मर्न तयार छौं’ भन्दै विहिवार अर्को समुहको बैठकमा गए

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राईले विहिवार समुह परिवर्तन गरेका छन् । दुई पटक सम्मको बैठकमा ओली समूह तर्फ सहभागी भएका उनीहरु विहिवार भने प्रचण्ड नेपाल समुहको बैठकमा पुगे ।

उषाकला राईलाई ओली समुहले केन्द्रिय सदस्य समेत बनाएको थियो । उनले पद समेत अस्विकार गरेकी छन् । सोमबार र मंगलबार ओली समूहको बैठकमा सहभागी हुँदै आएका उनीहरु विहिवार प्रचण्ड–माधव समूहतिर फर्किएका हुन् ।

तामाङ सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । मलाई प्रचण्ड-नेपालकै कुरा चित्त बुझेकाले यतै रहने निर्णय गरेका छौं उनले भनेका छन् ।

आफ्ना सर्कलका साथीहरू र जिल्लाको मनोविज्ञान पनि प्रचण्ड(नेपालतिर भएकाले फर्किएको उनले बताएका छन् । तामाङ लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल समूहमा थिए। २०७४ को चुनावपछि उनी ओली सरकारमा कानुन मन्त्री बनेका थिए।

उनकी पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । ओलीले केन्द्रिय सदस्य समेत बनाएका उषाकलाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पद अस्विकार गरेको घोषणा गरेकी छन् ।

‘यो कम्युनिष्ट आन्दोलनमा म लागेको पनि चार दशक भएको छ। तर, पद र पैसा केही होइन। जनताको पैसा खाइन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छँदैछ,’ उनले भनेकी छन्,‘सबै प्रकारका गलत कुराहरू मुख्य गरेर भ्रष्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाइरहेका थियौं। तर आज त्यो अलपत्र परेको छ।

प्रकाशित मिति १० पुष २०७७, शुक्रबार ०२:४५