सुदूरपश्चिमै पहिलो पटक भेटियो शिवलिगं सहितको गुफा, दर्शन तथा हेर्न भक्तजनको भिड

दार्चुला : डिलाशैनी गाउँपालिका वडा नम्बर २ गन्ना समैजि मन्दिर क्षेत्रमा भेटिएको शिवलिगं सहितको गुफा हेर्न दर्शक तथा भक्तजनहरुको भिड लाग्न थालेको छ ।

गोकुलेश्वरबाट मार्मा जाने सडक नजिकै गुफा भेटिएको र गुफाभित्र ढुगां माथि दुई फिट अग्लो १५ सेन्टिमिटर व्यास भएको शिवलिगं भेटिएको समाचार रेडियो लोकदर्पण र लोकदर्पण टिभी डटकम अनलाइनबाट केहि दिन पहिले प्रसारण भएपछि दर्शक तथा भक्तजनहरुको भिड गुणात्मक रुपमा बढेको गुफा अवलोकन गरेर फर्किनुभएका शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलका शिक्षक सुरेन्द्र बहादुर तितराले बताउनुभयो ।

एक हप्तामा दुई पटक गुफा र शिवलिगंको अवलोकन गरेर फर्किनुभएका तितराले रेडियो लोकदर्पणसंग भन्नुभयो, गुफा भित्र ढुगांमाथि आकर्षक शिवलिगं अवस्थित छ, शिवलिगंको छेउमा चट्टाभित्र नागबेली पाटा परेको सर्प आकारका मुर्तीहरु पनि रहेका छन् ।

सडक भन्दै दुई मिटर माथि गएर हेर्दा गुफाभित्र सजिलै शिवलिगंको दर्शन गर्न सकिने उहाँले बताउनुभयो । अहिले स्थानीय अखबर राना, मोतिराम राना, अकबर घरडी लगायतको अगुवाइमा स्थानीयहरुले सडक छेउबाटै सबैले सजिलै सित दर्शन गर्न मिल्ने गरी गुफा बाहिरको क्षेत्र सम्याउने काम गरिरहेको उहाँले बताउनुभयो ।

व्याक्तिगत रुपमा र सञ्चारमाध्यमबाट प्रचारप्रसार भएपछि अहिले उक्त शिवलिंक हेर्न जाने भक्तजनहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । गुफा क्षेत्रमा नियमित पुजा पाठ समेत हुने गरेको छ । स्थानीयहरुका अनुसार हिजोआज गुफा हेर्नका लागि दैनिक सयौँ मानिसहरु पुग्ने गरेका छन् ।

बारिलका शिक्षक तितराले प्राचिन कालमा पहिरोले उक्त गुफा पुरिएको हुनसक्ने आकलन गर्दै थप खोज, अनुसन्धान तथा संरक्षण, सम्बद्र्धन गर्न सके नयाँ तथ्यहरु फेला पर्न सक्ने बताउनुभयो । भक्तजन तथा दर्शनार्थीहरुको दैनिक घुइचो लागेपनि बसाईको उचित व्यवस्थापन नभएकोले उक्त धार्मीक क्षेत्रको सम्बद्र्धनका लागि कार्यक्रम सञ्चालन गरिदिन स्थानीयबासीले गाउँपालिकासंग अनुरोध गरेका छन् ।

स्थानीयहरुको भनाई अनुसार, गत वर्ष उक्त क्षेत्रमा लटिनाथ देवताका धामी हर्क बहादुर घरडीले सपनामा शिव भगवान ध्यानमा बसेको देखेको र यो गुफाको सम्बन्ध उक्त सपनासंग जोडिएको छ ।

गुफाको माथि अगवर रानाको एक्लो घर रहेको र उहाँलाई विगत केहि समययता राती सुतेको बेला अप्ठ्यारो महसुस हुने गरेको थियो । लटिनाथ देवताका धामी हर्क बहादुर घरडीले शिव भगवान ध्यानमा बसेको सपना देखेको जानकारी गराएको केहि समयपछि स्थानीय अगबर रानाले सोहि क्षेत्रमा शिव भगवानको मुर्ती समेत फेला पार्नु भएको थियो ।

सडकबाट घरसम्म जाने सिढि बनाउने क्रममा उक्त मुर्ती भेटिएको र खोजि गर्दै जादा रानाले नै गुफाभित्र शिवलिगं भेट्टाएको स्थानीयहरुले बताएका छन् ।

स्थानीय सरकारले ध्यान दिन सके उक्त गुफालाई धार्मीक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको स्थानीय अखबर रानाले बताउनुभयो । लोकदर्पण 

प्रकाशित मिति २० माघ २०७७, मंगलवार १९:१६