पार्टी एकताका लागि ओलीले प्रधानमन्त्री पद र प्रचण्ड–माधवले पदीय लोभ त्याग्नुपर्छ ः योगेश भट्टराई

२१ फागुन, ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहका नेता योगेश कुमार भट्टराईले पार्टी एकताको सम्भावना अझै पनि जिवितै रहेको बताउनुभएको छ । नेकपा विभाजन र एकताको लडाईमा रहे पनि पार्टीको एकताका लागि पहिलो तहका नेताले आफुले आफैलाई पराजित गर्न सके एकताको सम्भावना बलियो भएर जाने उहाँले बताउनुभयो ।

प्रेश संगठन नेपाल ताप्लेजुङद्धारा शुक्रबार फुङलिङमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘नेकपा एकता हुने सम्भावना जिवित छ, एकता मरिसकेको छैन, त्यो कोमामा पनि पुगि सकेको छैन, तर एकताका लागि अब प्रत्येक नेताले पदीय लोभ त्याग गर्न सक्नुपर्छ ।’ एकताका लागि पहिलो चरणमा प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पद त्याग्नु पर्ने र त्यस पछि पुष्प कमल दहाल (प्रचण्ड) र माधव नेपालले प्रधानमन्त्री पदमा नजाने घोषणा गर्न आवस्यक भएको उहाँको भनाई थियो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पद त्यागेर पार्टी एकताको ढोका खोल्न अनुरोध समेत गर्नुभयो । ‘प्रधामन्त्री केपी ओलीलाई मेरो अनुरोध छ कि तपाईले ईतिहासमा एउटा निर्णय लिनै पर्छ, त्यो निर्णय तपाईका लागि कठोर हुन सक्छ तर मुलुकका लागि प्रीय हुन सक्छ, आफ्नालाई कठोर र मुलुकका निम्ति प्रीय हुने निर्णयका लागि लागि तपाईले पद त्याग गर्नुपर्छ, त्यो काम गर्नुहोस र त्यस पछि एकताको प्रकृया सुरु हुन्छ र नयाँ सम्भावना हामी खोज्छौ’–भट्टराईले भन्नुभयो ।

पहिलो तहका नेताले पदीय लोभ त्याग्न सके पार्टी एकता हुने सम्भाना रहेको उहाँको धारणा थियो । नेतृत्व पाईसकेका नेताले एकताका लागि आफुलाई एक पटक पराजित गर्न सके ईतिहासमा कम्युनिष्ट पार्टीका लागि ठुलो गुन हुन सक्ने उहाँको भनाई थियो । अस्पतालको बेडमा छटपटिरहेको नेकपालाई कुसल चिकित्सकको साथ लिएर उपचार गर्न सके चाँडै एकता हुन सक्ने र आगामी निर्वाचनमा पराजितको अवस्थाबाट नेकपा टाढै रहने उहाँले स्पष्ट पार्नुभयो ।

यता सर्बोच्चले प्रतिनीधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्ने फैसला गरेकोमा खुसी व्यक्त गर्दै न्यायलयको यो फैसलाले समेत नेपालको संविधान खतरामुक्त भएको बताउनुभयो । सबोच्चको फैसलाले अब कुनै पनि प्रधानमन्त्रीले संविधान मिच्न पाउँदैन र सक्ने छैन भन्ने कुरा स्पष्ट भएको उहाँको टिप्पणी थियो ।

यता आजै नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको भवन निर्माण तथा स्तरोन्नतीका लागि लागि व्यक्तिगत रुपमा एक लाख रुपैँया सहयोग गर्ने बताउनुभयो । आगामी दिनमा समेत भवनको स्तरोन्नतीका लागि आफ्नो तर्फबाट पहल हुने बताउनुभयो । यसैबीच भट्टराईले आज दिउँसो आगलागी क्षेत्र दोभानको समेत अवलोकन गर्नुहुनेभएको छ । अवलोकन पछि पीडित परिवारलाई राहत वितरण गर्ने लगायतको कार्यक्रम रहेको बताईएको छ । गएको मंगलबार भएको आगलागीबाट दोभानका ५० घर जलेर नष्ट भएका थिए ।

Loading...
प्रकाशित मिति २१ फाल्गुन २०७७, शुक्रबार १६:४६