खुशीको खबर ! किरण चेम्जोङ एशियाकै दश उत्कृष्ट खेलाडीको सूचीमा परे

काठमाडौं । राष्ट्रिय टिमका गोलकिपर एवम् कप्तान किरण चेम्जोङ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ को शीर्ष १० खेलाडीमा परेका छन् । यसरी पर्ने पहिलो नेपाली भएका छन् । थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय टिमका कप्तान चेम्जोङ एसियाकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका हुन् ।

एसियाली फुटबल महासंघ ‘एएफसी’ ले बिहीबार सार्वजनिक गरेको ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसहित १० खेलाडी छन् । यो स्तरमा पुग्ने उनी पहिलो नेपाली हुन् । दुई वर्षअघि कप्तान बनेका किरणको नेतृत्वमा नेपालले पहिलो उपाधि हात पारेको हो ।

त्यसको दुई दिनअघि मात्रै उनी भारतको आई लिगकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए, जहाँ राउन्डग्लास पञ्जाबका १४ खेलमा ७ ‘क्लिनसिट’ राखेका थिए । उनले क्लब फुटबलमा नेपालको सहिद स्मारक ए डिभिजन लिग, माल्दिभ्सको धिवेही लिग र भारतको आई लिगको उपाधि जितेका छन् । र, त्रिदेशीय लिग जित्ने उनी पहिलो नेपाली हुन् । पाँच वर्षयता विदेशकै लिगमा व्यस्त रहेका उनीसँग बंगलादेशको लिग खेलेको अनुभव पनि छ ।

उनीसँगै उत्कृष्ट १० मा यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, साउदी अरेबियाका सालेह अल सेहरी, इराकका अला अली मवाई, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका नका अलिसेर जालिलोभ परेका छन् ।

पछिल्लो साता अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनका आधारमा उनीहरूलाई छनोट गरिएको पनि एएफसीले जनाएको छ । एएफसीको वेबसाइटमार्फत गर्ने भोटको आधारमा विजेताको चयन गरिनेछ । नेपालले दशरथ रंगशालामा भएको सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्स कपको उपाधि जितेको थियो ।

Loading...
प्रकाशित मिति २१ चैत्र २०७७, शनिबार ०६:०४