दाइजोका कारण यसरी खोसियो सहनी परिवारको खुशी

विराटनगर । केहीदिनअघि भारतको जोगबनीमा विवाह गरेर दिएकी छोरीको आफ्नै ज्वाइँवाट हत्या भएपछि बिराटनगरको सहनी परिवार ऋणसँगै यतिबेला शोकमा डुबेको छ । भनेजति दाइजो दिन नसक्दा २२ वर्षीया छोरीको हत्या भएको छ । २३ फागुन २०७६ मा सुन्दर भविष्यको कल्पना गर्दै मनिकचन्द र आनन्दीदेवीले एक्ली छोरी रञ्जनाको भारत अररियाको तकिया भन्ने स्थानका २५ वर्षीया भीम बहरदारसँग विवाह गरिदिएका थिए ।

कपाल काट्ने पेशा गर्ने बहरदारसँग विवाहअघि र पछि गरी सहनी परिवारले मोटरसाइकल सहित दुई लाखभन्दा बढी रकम तिलक पनि दिएका थिए । तर, पनि निष्ठुरी क्रुर ज्वाइँले छोरीको निर्मम हत्या गरिदियो । ‘मागे जति दाइजो दिएकै थियौँ तर आज यस्तो भयो,’ नातिनीको किरिया बसेका उमालालले भने, ‘छोरीलाई कुटेर मारेपछि हातखुट्टा बाँधेर खोलामा फालिदिएछन् ।’

कवाडीको सामान संकलन गर्ने आनन्दी र दैनिक मजदुरी गर्ने मनिकचन्दले विवाहअघि ज्वाइँ खलकले मागेअनुसारको तिलक दिए । तर, पुगेन भन्दै ज्वाइँले पुन मोटरसाइकल मागे । ऋण खोजेर सहनी परिवारले मोटरसाइकल किन्न ९० हजार भारु दिए । त्यसबाहेक ऋणभन्दै पटक–पटक ज्वाइँले ५–१० हजार मागेर लगिरहन्थे । पछिल्लो समय सैलुन खोल्न भन्दै ज्वाइँ भीमबहादुरले थप दुईलाख माग गरे । तर, रञ्जनाका बुबा आमाले भनेजति रकम तुरुन्त दिन सकेनन् ।

कवाडी संकलन गरेर बिक्री गरेर जोगाएको पैसाले छोरीको बिहे गरेर टकटएिकका उनीहरू ऋणमा समेत चुर्लुम्म डुबेका थिए ।
मागेजति दाइजो नआएपछि बहरदार परिवारले निर्घात कुटपिट गरी रञ्जनालाई मीरगञ्ज पुलनजिकै खोलामा फालिदिए । २२ वर्षीया छोरीको हत्या भएपछि सहनी परिवारमा पीडामाथि पीडा थपिएको छ । ‘छोरीको बिहे गर्दाको ऋण तिर्न सकेको छैन,’ आनन्दीदेवीले भनिन, ‘मेरो छोरीका हत्यारालाई कडाभन्दा कडा कारवाही होस् ।

तराइ समुदायमा अझै दाइजो जस्तो कुप्रथाको विकृति कायमै छ । कानूनले निषेध गरेपनि अझै पनि भनेजति दाइजो नपुगेकै कारण रञ्जना जस्ता धेरै छोरीचेलीहरूले ज्यान गुमाइरहेका छन् । सहनी परिवारले केटा खोजेर भारतीय नागरिकसँग छोरीको मागी विवाह गरिदिएका थिए । भीमले दाजुसँग मिलेर भारतमा नै सैलुन पसल सञ्चालन गर्दैथिए । तर, दाजुभाईबीच विवाद बढेपछि पसल बेचे ।

पसल बेचेपछि नयाँ पसल खोल्न पैसा माग्न रञ्जना मार्फत ससुराली पक्षलाई निरन्तर दबाब दिइरहे । ऋण काढेर विवाह गरेको भन्दै उनले श्रीमानको प्रस्ताव अस्वीकार गरिन् । उनले दाइजो माग्दै आफूमाथि कुटपिट भएको घटना पटक–पटक माइतमा सुनाउँथिन् । घरमा यातना पाएपछि अघिल्लो साता माइत आएकी रञ्जनालाई लिन २१ असोजमा श्रीमान् भीम नै आए ससुराली आए । तर, दसैंमा घर गएकी रञ्जनाको शव आइतबार बिहान खोलामा भेटियो । उनको घरपक्षकाले २३ असोजमै हत्या गरेको माइती पक्षको दाबी छ ।

Loading...
प्रकाशित मिति २९ आश्विन २०७६, बुधबार १६:०९