सरकारी अस्पतालका लागि बिल बनाएर ठिक्क पारेका अक्सिजन सिलिण्डर ३ दिन देखि खुसु-खुसु नीजिमा पुगेपछि

काठमाडौ । जनकपुरमा सरकारी अस्पतालका लागि भन्दै छुट्याएर बिल बनाइसकेको अक्सिजन सिलिण्डर नीजि अस्पतालमा पुगेपछि ववाल भएको छ । प्रादेशिक अस्पताल जनकपुरधामको लागि भन्दै पठाइएको अक्सिजन सिलिन्डर निजी अस्पतालमा पुगेपछि समस्या भएको छ । तीन दिन देखि यस्तो भइरहेको प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा प्रमोद यादवले बताएका छन् ।

उनले तीन दिन अघि सम्म सबै ठिक ठाक भएको भएपनि तीन दिन यता लगातार सरकारी अस्पतालमा आउनुपर्ने अक्सिजन सिलिण्डर नीजिमा पुगेको बताए । उनले कुन नीजि अस्पतालमा पुगेको हो त्यो खुलाउन नचाहे पनि जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा पुग्ने गरेको पाइएको छ । सरकारी अस्पतालमा संक्रमितको उपचार निशुल्क हुने गरेको छ ।

‘ढल्केबर ग्याँस उद्योगले आइतवार प्रादेशिक अस्पतालको नाममा बिल बनाएर ४५ सिलिण्डर अक्सिजन पठाएको भएपनि त्यो सिलिण्डर नीजि अस्पतालमा पुगेको उनले बताए ।

उक्त निजी अस्पतालका संचालक पूर्व स्वास्थ्य राज्यमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवको भएको बताइएको छ । उनले त्यसवारे स्थानिय प्रशासन र प्रहरीलाई जानकारी गराएको पनि बताएका छन् । तर कुनै एक्सन नभएको उनको गुनासो छ ।

अस्पतालमा अब केही घण्टा मात्र धान्न सक्ने अक्सिजन मात्र छ । ६० जना संक्रमितको उपचार भइरहेको र ति मध्य १४ जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई अक्सिजन आवश्यक पर्ने डाक्टरको भनाई छ । अक्सिजन आउन केही ढिला भए १४ जनाको ज्यान जोखिममा पर्ने भन्दै डा यादवले चिन्ता ब्यक्त गरेका छन् ।

प्रकाशित मिति २ जेष्ठ २०७८, आईतवार ११:५८