सुनकोसी नदीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, घाइतेमध्ये केही गम्भीर (अपडेट)

सिन्धुपाल्चोक, कात्तिक १७ । सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको एक यात्रीवहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

डीएसपी माधवप्रसाद काफ्लेले दिएको जानकारीअनुसार मृतकमध्ये ९ महिला, पाँच बालक, दुई बालिका र एक पुरुष हुन् ।

डीएसपी काफ्लेले तीमध्ये केहीको सनाखत भइसकेको जनाएका छन् ।

दुर्घटनामा परी घाइते भएका ५० जनामध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेमध्ये बसका चालक धनबहादुर तामाङ पनि छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

केही घाइते ‘डिस्चार्ज’समेत भइसकेको डीएसपी काफ्लेले बताए ।

आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौं जाँदै गरेको बा२ख ७२४५ नम्बरको शैलुङेश्वरी यातायातको बस दुर्घटना भएको हो ।

बस सडकबाट सुनकोसी नदीको बीचमा खसेको थियो । बस खसेलगत्तै केही यात्रीलाई नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका थिए ।

बस नदीबाट किनारमा निकालिएको छ । रात परेपछि उद्धारकार्यमा समस्या देखिएको छ ।

दिउँसो सवा १ बजेतिर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

३४ यात्री रहने बसमा सवार ६७ जनाको गणना भएपनि कति यात्री सवार थिए भन्ने अझै खुल्न सकेको छैन ।

क्षमताभन्दा बढी यात्री र तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Loading...
प्रकाशित मिति १७ कार्तिक २०७६, आईतवार १३:५६