सुनकोशीमा बस दुर्घटना : यी हुन् सोनाम तामाङ जस्ले ज्यानको बाजी थापेर “र्‍याफ्टिङ बोट लिएर सुनकोशीमा दुई मिनेटमै पुगेर धेरैको ज्यान बचाए”

म सुकुटे बीच रिसोर्टमै वसिरहेको थिएँ। खोला तिरै हेरेर टहलिँदै थिए। सडकबाट गाडी झ्याम्मै खोलामा खस्यो। ठूलो आवाज आयो। होटलबाट दुर्घटनास्थल २० मिटरको दुरीमा पर्छ। बस दुर्घटना भएको कन्फर्म हुन केही समयनै लागेन।

तुरुन्त र्‍याफ्टिङ बोट निकालेर म सहित ४ जना उद्दारको लागि खटियौं। घटनाको दुई मिनेट नपुग्दै घटनास्थल पुग्यौं। त्यहाँको दृष्य विभत्स थियो। सुनकोशी रातै भएको थियो। गाडी माथी फर्केर पल्टिएको थियो। १० जना जति उत्तानो परेको बसमाथी बसेर विलौना गरिरहेका थिए। नदीमा यात्रु बगिरहेका थिए। पहिले गाडीको छतमा रहेकाहरुलाई उद्दार गर्‍यौं। कतिपयले गाडी भित्र आफन्त रहेको भन्दै बसबाट बाहिर आउन मानेन्।

बलजफति उनीहरुलाई उद्दारा गर्यौं। गाडीले च्यापेका दुई श’व म आफैले निकाले। गाडीको झ्यालबाट कसैले हात हल्लाईरहेको थियो। नजिक पुगेर मैले उसलाई ताने। ति महिलाको काखमा बच्चा समेत थियो। उनीहरु दुवैलाई सकुसल सडकमा निकाल्यौं। त्यत्तिकैमा ५/६ वटा र्‍याफ्टिङ बोट नदिमा आए। बगिरहेका यात्रु यात्रुसम्म पुगेर उद्दार गरियो।

घटनास्थल र्‍याफ्टिङका लागि चर्चित भएकाले र्‍याफटिङ बोट र तालिम प्राप्त उद्दारकर्ताको कमि थिएन। तत्काल उनीहरु उद्दारमा खटिएकाले धेरैको ज्यान जोगाउन सकियो।

(ध्रुब दंगालसँगको कुराकानीमा आधारित, नागरिक न्युज बाट साभार )

अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा निधन हुनेको सङ्ख्या १६ मध्ये पाँचको सनाखत भएको छ । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै निधन भएको हो ।

प्रहरीका अनुसार मृतक १५ मध्ये नौ महिला, एक बालिका, दुई पुरुष र तीन बालक छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधवप्रसाद काफ्लेका अनुसार सनाखत हुनेमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका–४ सिन्धुपाल्चोककी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी छ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका–३ की ५१ वर्षीया रत्नकुमारी राउत, सोही स्थानका तीन वर्षीय बालक सिसन तामाङ छन् ।

दिउँसो सवा एक बजे भएको दुर्घटनामा अझैसम्म पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी उद्धारमा जुटिरहेका छन् । नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिए पनि बसभित्र कोही नभेटिएका प्रहरीको भनाइ छ । यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदीमा पुगेको थियो ।

बसमा ४० बढी यात्रु सवार रहेका बताइएको छ । सिन्धु सहावहार अस्पताल खाडीचौरमा २० को उपचार भइरहेको छ । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा पनि घाइतेको उपचार भइरहेको छ । गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक काफ्लेका अनुसार ठूलो दुर्घटना भएकाले क्षति बढ्न सक्ने छ ।

Loading...
प्रकाशित मिति १७ कार्तिक २०७६, आईतवार १६:००