बाँके हतियारसहित पक्राउ परेका काँग्रेस निकट संगठन तरूण दलका नेपालगन्ज नगर सभापति सन्दिपजंग शाहबिरूद्ध पुनः सात दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको छ । नेपालगन्जको नमस्ते रिर्सोटबाट कार्तिक १४ गते बिहीबार अमेरिकन पेस्तोलसहित पक्राउ परेका नगर सभापति शाहबिरूद्ध कोहलपुर प्रहरीले हातहतियार तथा खरखजाना ऐनअनुसार अदालतमा मुद्दा दायर गरिसकेको कोहलपुरका डिएसपी हेमबहादुर शाहीले बताए ।
उनकाअनुसार पहिलोपटक सात दिन म्याद थप गरेर कार्तिक १६ गते शनिबारदेखि सभापति शाहसँग अनुसन्धान गरेकोमा दोस्रो पटक दुई दिन र तेस्रो पटक पुनः सात दिन म्याद थपेर अनुसन्धान भइरहेको जनाए । उनले हतियार बरामद पनि रितपूर्वक गरिएको बताउँदै भने, ‘गाडीबाट हतियार बरामद भएका बेलाका फोटो, भिडियोजस्ता प्रमाण पनि प्रहरीसँग सुरक्षित छन् ।
आपराधिक मानसिकता बोकेका नगर सभापति पक्राउ परेपछि बजारमा तरूण दलका कोषाध्यक्ष भनिने केशर खड्काले आफ्ना बिरूद्ध गरेको प्रचारबाजी निराधार भएको डिएसपी शाही बताउँछन् । उनकाअनुसार खड्कापनि कोहलपुर क्षेत्रमा विगत लामो समयदेखि आपराधिक गतिविधीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएकोले उनीमाथि पनि प्रहरीले निगरानी बढाएको छ ।
कोहलपुरमा रहेको इलाका प्रहरी कार्यालयमा हेमबहादुर शाही डिएसपीका रूपमा आएपछि यस क्षेत्रको शान्ति सुरक्षा मजबुद हुनुका साथै आपराधिक गतिविधीमा कमी आएको छ । आपराधिक गतिविधीमा सक्रिय भएका कोहलपुर क्षेत्रका मात्रै नभई नेपालगन्ज र आसपासका केही आपराधिक व्यक्तिलाई पक्राउ गर्दै कारवाहीका लागि कोहलपुर प्रहरीले खोरमा कोचेको छ ।
बाँकेको कोहलपुर प्रहरीले पछिल्लो समय आपराधिक गतिविधी न्यूनिकरणका लागि सक्रियता बढाएको छ । कतिपयका नाममा अदालतमा मुद्दासमेत दर्ता भइसकेको कोहलपुर प्रहरी प्रमुख डिएसपी शाही बताउँछन् । राजनीतिक आडमा तरूण दलका सभापति र उनका केही आसेपासेले कोहलपुर क्षेत्रलाई आफनो कब्जामा लिन खोजेको भन्दै डिएसपी शाहीले यस्ता गतिविधी नियन्त्रणका लागि सक्रियता बढाएको बताएका छन् ।
यसैबीच काँग्रेस माथि भैरहेको ज्याद्तीको बिरोधमा तरुण दल केन्द्रीय समिति र बाँके जिल्ला समितिले सोमबारदेखि पुनः आन्दोलन गर्ने जनाएको छ । अबैध हतियारसहित पक्राउ परेका शाहको घटनाका विषयमा बाँके तरुणदलले सन्दीपलाई फसाएको भन्दै बिभिन्न बिरोध गर्दै आएको छ । शाह निर्दोश रहेको र प्रहरीले उनलाई फसाएको तरुणदलको दावी छ ।