तेह्र दिनकी सुत्केरी महिलाको दुवै मिर्गौला फेल नवजात शिशुको बिचल्ली

पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गाैला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गाैलाले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गाैलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गाैलाले काम नगरेको पाइएको विशाकाकी जेठानी सविता परियारले बताइन् ।

कात्तिक ६ गते विशाकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण गर्दा बच्चा जन्माउने मिति कटिसकेकाले धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘रिफर’ गरियो । त्यो अवस्थामा चिकित्सकले बच्चा जन्माउनका लागि दिएको मिति कटिसकेको थियो । यही कारण बागलुङ अस्पतालले शल्यक्रियामार्फत बच्चा निकाल्न सुझाव दिँदै पोखरा रिफर गर्यो । कात्तिक १७ गते गण्डकी अस्पतालमा शल्यक्रिया गरेर विशाकाको पेटबाट छोरी निकालियो । आमाछोरी दुवैको अवस्था सामान्य रहेको सविताले बताइन् ।

तर शल्यक्रिया गरेको २४ घण्टासम्म पिसाब भएन । उनको शरीर र पेट पूरै फुल्दै गएपछि मिर्गौलामा खराबी भएको हुनसक्ने अनुमान गर्दै भिडियो एक्स–रे गरेर हेर्दा दुवै मिर्गौला फेल भएको देखिएको थियो । अहिले उनको अवस्था जटिल बन्दै गएको छ । उनको अहिले सोही अस्पताल सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरेर उपचार भइरहेको छ ।

आमाको दुवै मिर्गाैला फेल भएपछि पोषिलो दूध चुस्नुपर्ने नवजात शिशुको बिचल्ली भएको छ । बच्चालाई सङ्क्रमण हुनबाट जोगाउनका लागि आमासँग राख्न नमिलेको विशाकाकी जेठानी सविताले बताइन् । विशाका १३ दिनदेखि अस्पतालको आइसियुमा नै राखिएकी छन् । एक÷एक दिनको अन्तरमा उनका मिर्गौलाको डायलाइसिस गर्नुपरेको परिवारले जनाएको छ । उनको उपचारका लागि अहिलेसम्म एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको सविताले बताइन् ।

चिकित्सकहरूले कम्तीमा पनि तीन हप्तासम्म डायलिसस गरिरहनुपर्ने बताएका छन् । सविताका अनुसार विशाकाको शरीर फुलेकाले नसाहरूमा राम्रोसँग रक्तसञ्चार भइरहेको छैन । उनको शरीरमा रगत परिवर्तन गरेर मिर्गौलाको समस्या ठीक पार्नुपर्ने अवस्था रहेको छ । रक्तनलीको समस्याका कारण हातबाट दिइएको रगत सञ्चार नभएपछि घाँटीको नसामा प्वाल पारेर त्यहीँबाट रगत दिइएको छ ।

Loading...
प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार ०३:३५