ऐतिहासिक स्वर्ण विजेता भलिबल टोलीको स्वागतमा विमानस्थलमा जे देखियो (फोटो फिचर)

एसियन भलिबल कन्फेडेरेसन (एभीसी)को आयोजनामा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको पहिलो संस्करणको विजेता बन्दै नेपाली महिला भलिबल टोलीले नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएको हो ।

बंगलादेशमा भएको पहिलो संस्करणको प्रतियोगितामा अपराजित रहँदै उपाधि उचालेको महिला टोली शुक्रबार स्वदेश फर्कियो । बिहीबार फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दा नेपाली भलिबलको इतिहासमा अरुणा शाहीको टोलीले आफ्नो नाम ऐतिहासिक दस्तावेजमा दर्ज गराए ।

काठमाडौं, पोखरा र जनकपुरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यास थाल्दा जेठ महिनामा नेपाल भलिबल संघ माथि थुप्रै प्रश्न उठेका थिए ।

जेठ १५ गते प्रारम्भिक टोलीको छनोट गरिएको थियो । उक्त छनोटमा सनियर खेलाडी समावेश नभएको भन्दै आलोचना समेत गरिएको थियो । तर, उपाधि चुमेपछि अनेक प्रश्न तथा आलोचना गर्नेहरुमाथि गतिलो जवाफ फर्किएको छ ।

बंगलादेशमा स्वर्ण जित्दा शुक्रबार भलिबल खेलाडीसहित भलिबल संघका पदाधिकारी निकै खुसी बने । खेलाडीहरुमा पनि आत्मविश्वास बढेको छ ।

हाम्रो खुसीको सीमा छैन् । तर, यतिले मात्रै हुँदैन । अब लगत्तै आइरहेको सागमा पनि स्वर्ण जित्नु छ,’ प्रशिक्षक जगदिश भट्टले भने,‘ अब बाँकी रहेको दिन हामी सागको अभ्यासमा केन्द्रित हुने छौं । भारत र श्रीलंका लगायतका बलिया टोलीसँग प्रतिस्पर्धा गर्दै स्वर्ण जित्नुछ ।

Loading...
प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार १५:४४