बिद्या भट्टराईको प्रत्यासी बनेका कांग्रेस उमेद्वार पौडेलले मतदान गर्न नपाउने

कास्की क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान शुरु भएको छ । यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको हो । जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीका अनुसार प्रायः सबै मतदान केन्द्रमा मतदाता बिहानैदेखि मतदान गर्न लामबद्ध भएका छन् ।

बिहानको समयमा धेरै बेर मतदान गर्नका लागि कुर्न नपर्नुपर्ने उद्देश्यका साथ कतिपय मतदाता बिहानै मतदान गर्न आएका हुन् । मतदानस्थलमा सुरक्षाको व्यवस्था कडा बनाइएको छ । कास्की क्षेत्र नं २ मा पोखरा महानगरपालिकाअन्तर्गतका ११ वडा पर्छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता छन् । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि आज प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचनअन्तर्गत मतदान भइरहेको हो ।

अन्य निर्वाचन क्षेत्रभन्दा निकै महत्वका साथ् हेरिएको कास्की २ बाटै काँग्रेसबाट उम्मेदवार बनेका खेमराज पौडेलले स्वयंले भने मतदान गर्न पाउने छैनन् । किन भने उनको घर तथा मतदाता नामावली कास्की क्षेत्र नम्बर ३ मा पर्छ । तर उनका प्रतिस्पर्धी नेकपा उम्मेद्वार विद्या भट्टराईले भने मतदान गर्न पाउने छिन् ।

Loading...
प्रकाशित मिति १४ मंसिर २०७६, शनिबार ०८:४७