बंगलादेशी खेलाडीको रिसले रेडकार्ड तस्बिरमा नेपालको फाइनल यात्रा

काठमाडौं नेपालको पुरुष फुटबल टोली १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० गोलले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो। प्रतिस्पर्धात्मक खेलमा नेपालका लागि सुनील बलले निर्णायक गोल गरे।

सुनीलले ११औं मिनेटमा गरेको गोल नै नेपालका लागि पर्याप्त बन्यो। सुनीलले डीबक्स भित्र कप्तान सुजल श्रेष्ठको पासमा पोस्ट नजिकबाट जाली चुमाएका थिए। फाइनल पुग्नका लागि जित या बराबरी पर्याप्त रहेको खेलमा नेपालले सुरुआती गोल गरेपछि रक्षात्मक रणनीति अपनाएको थियो। ६४औं मिनेटमा सुजल श्रेष्ठको पोस्ट नजिकको हेड प्रहार थोरै बाहिरिएको थियो।

यही खेलबाट नेपालका सेसेहाङ आङ्दम्बेले डेब्यु गरेका छन्। सेसेहाङ कप्तान सुजल श्रेष्ठ दोस्रो हाफमा घाइते भएपछि उनको स्थानमा मैदान प्रवेश गरेका थिए। ६९औं मिनेटमा अभिषेक रिजालले खाली पोस्टमा हानेको भली प्रहार बाहिरिएको थियो। पहिलो हाफमा एउटा फितलो अवसर बनाएको बंगलादेश दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन।

बंगलादेशले दोस्रो हाफमा थप दुई वटा गोलका अवसर बनाएको थियो। दोस्रो हाफको इन्जुरी समयमा अनावश्यक फल खेलेका कारण बंगलादेशका कप्तान जमल भुयन दोहोरो पहेँेलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए। हारसँगै तेस्रो स्थान बनाएको बंगलादेशले कांस्य पदकमा चित्त बुझाएको छ।

Loading...
प्रकाशित मिति २२ मंसिर २०७६, आईतवार १६:२१