कुस्तीमा पहिलो पटक स्वर्ण जितेकी संगिताले भनिन्, बाबुको नामै लिन चाहन्न आमाले भैसीको दुध बेचेर मलाई यहाँ सम्म पुर्याउनुभयो

काठमाडौं २३ मंसिर तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ । उनले नेपाली कुस्ती खेलको इतिहासमा पहिलोपटक जारी सागमा नेपाललाई स्वर्ण दिलाएकी थिइन् । अहिले उनको गृहनगर खुशियालीले रमाएको छ ।

जनकपुरमा गत शनिबार सम्पन्न ५५ किलो तौल समूहतर्फ उहाँले बङ्गलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गर्दै नेपाललाई महिलातर्फको कुस्ती खेलमा स्वर्ण पदक दिलाएकी थिइन् । “धामीको मेहनत, परिश्रम र नियमित प्रशिक्षणले नेपाललाई सफलता हात लागेको हो ।” प्रशिक्षक राजेन्द्र चन्दले भने ।

तीन वर्षअघि हटौँडामा भएको राष्ट्रिय खेलकूद प्रतियोगिताबाट उहाँले कुस्तीमा स्पर्धा थालेकी थिइन् । “तीन वर्षअघि भीमदत्तनगर छेउछाउका स्कूलहरुमा खेलाडी खोज्दै हिँडेका बेला सङ्गीतालाई यहाँको भृकुटीबाट खेलमा ल्याएको हुँ ।” प्रशिक्षक चन्दले भने, “सङ्गीताको स्वर्णले सबैलाई खुशियाली दिलाएको छ ।” यसअघि बृहत् आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि उनले स्वर्ण पदक हात पारेकी थिइन् ।

उनले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकी छन् । स्नातक तहको अध्ययनलाई अघि बढाउने योजनामा लागेको बताउँछिन् । बंगलादेशकी सखिरा सरकाररिनेलाई ४(१ अंकले पराजित गरी स्वर्ण जित्‍न सफल भएकी उनी खुसीले हाँस्‍नुको साटो भावविह्वल हुँदै रोएकी थिइन्। चार छोरीमध्ये साहिँली उनी स्वर्णमा सफल भएपछी चर्चामा छिन्। उनी भन्छिन्, ुबुवाले सानैमा छाडेर जानुभयो।

आमाले दूध बेचेर पढाउनुहुन्छ। आमा र गुरुहरुले मलाई यहाँसम्म ल्याइ पुर्‍याउनुभयो।ु छोरीहरुलाई हेला गर्दै बुवाले अर्की बिहे गरेर हिँडेपछि उनीहरुको बिचल्ली भयो। त्यसपछि संगीताकै ठूलोबुवाले उनकै जग्गामा सानो झुपडी हालिदिएका थिए। ठूलोबुवाले बनाइदिएको त्यही झुपडीमा अनेक हण्डर खाएर बढेका संगीता र दिदीबहिनीको संघर्षको यात्रा जारी छ। आमा धनाले उनीहरुलाई ज्याला गरेर हुर्काएकी थिइन्। अहिले पनि छिमेकीले दिएको ऋणले पालेको भैंसीको दूध बेच्‍न थालेपछि जीविकोपार्जन सहज भएको छ। अनेक हण्डर खेपेकी धनाले संगीतामाथिका दुई छोरीको बिहे पनि गराइसकिन्।

Loading...
प्रकाशित मिति २३ मंसिर २०७६, सोमबार ०९:४७