विदेश गएर दिदीले जग्गा किन्नुभो गोल्ड मेडलको पैसा थपेर म घर बनाउँछु पुनम श्रेष्ठ

पुनम श्रेष्ठकी आमाको जीवनमा आफ्नै एउटा घर होस् भन्ने सपना छ। बच्चाहरू सानै हुँदा पतिले छाडेर गए। उनीहरू घरबार बिहीन भए। पुनमकी आमाले आफ्ना दुई छोरी र एक छोरालाई घर बनाउने सपना देखाउँदै हुर्काइन्। ठूली छोरीले वैदेशिक रोजगारीमा गएर चितवनमा घडेरी किनेपछि आमाले कान्छी छोरी पुनमबाट घरको आसा गरेकी छिन्।

आमाले दिदीले जग्गा किनिन् अब तिमीले जसरी पनि घर बनाउनु पर्छ भन्नुहुन्छ,’ सोमबारमा जुडोमा स्वर्ण जितेपछि पुनमले भनिन्,’अब गोल्ड मेडल जितेबापत सरकारबाट पाउने पैसा थपेर म घर बनाउँछु। पुनमले सोमबार १३औं साग अन्तर्गत जुडोको ७८ केजी तौल समूहमा स्वर्ण जितेकी छन्। यो जितसँगै उनको जीवनको सपना पनि पूरा हुने भयो।

सोमबार प्रतिस्पर्धामा उत्रनुअघि पनि उलाई आमाले फोनमा जसरी पनि स्वर्ण जित्नु भनेर आशिर्वाद दिएकी थिइन्। स्वर्ण जितेपछि बधाईको आइरो आइरहँदा उनले आमालाई फोन गर्न भ्याएकी थिइनन्। ४ बजेपछि टिभी खोलेर बस्छु भन्नु भएको थियो सायद अहिलेसम्म त थाहा पाउनु भयो होला,’ उनले भनिन्।

यो स्वर्ण उनले अभाव र समस्यासँग जुध्दै गरेको त्यागको फल हो। पुनमले सन् २०१६ मा भारतमा भएको सागमा पनि प्रतिस्पर्धा गरेकी थिइन्। त्यतिबेला उनी तेस्रो स्थानमा सीमित हुनुपर्‍यो। त्यही बेलादेखि नै हो उनले अर्को पटक जसरी पनि स्वर्ण जित्छु भन्ने सोचेको। यत्रो वर्ष जुडो खेलेँ। जुडोमा आफ्नो छाप छोडेर जान चाहान्थेँ। त्यसका लागि एकदमै मिहिनेत गरेकी थिएँ,’ उनले भनिन्।

सोमबारको प्रतिस्पर्धामा उनले सुरूमा श्रीलंकाकी खेलाडीलाई हराएकी थिइन्। त्यसपछि उनको खेल भारतीय खेलाडीका लागि थियो। भारतीय खेलाडीलाई हराउन सके उनको स्वर्ण पदकको सम्भावना बलियो बन्थ्यो। श्रीलंकालाई सुरूमै हराएँ। त्यसपछि भारत र बंगलादेशको खेल हेरेँ। अनि उनीहरूलाई हराउने योजना बनाएँ उनले भनिन्।

भारतीय खेलाडीलाई हराउन सक्दिन कि भन्ने डर उनलाई नलागेको होइन, किनभने भारतीय खेलाडी निकै बलियी देखिन्थिन्। तर गुरूहरूले प्रोत्साहन गर्नु भयो। तिमीले सक्छौ। आज स्वर्ण जितेर राष्ट्रिय धुन बजानउनुपर्छ भनेपछि आत्मविश्वास बढ्यो,’ उनले भनिन्। फाइनलमा बंगलादेशकी खेलाडीसँग भिड्नुअघि उनले भारतीय खेलाडीसँग उत्कृष्ट खेल देखाइन्। अन्तिम १४ सकेन्ड बाँकी रहँदासम्म विपक्षीसँग डटिरहिन्।

भारतीय खेलाडीसँग १४ सेकेन्ड बाँकी रहँदासम्म नतिजा कस्तो हुनेहोला भनेर मुटु ढुकढुक भरहेको थियो,’ उनले भनिन्, ‘जब भारतीय खेलाडीलाई हराएँ अनि स्वर्ण जितेको जस्तो महससु भयो। भारतीय खेलाडीलाई हराएपछि उनको फाइनल भिडन्त बंगादेशकी फरिना खानोमसँग थियो। फाइनलमा पुनम हाबी हुँदै सजिलै स्वर्ण जितिन्।

उनले हात पारेको यो स्वर्ण आफ्नी ‍आमा, दिदी र नेपाल जुडो संघलाई समर्पण गर्न चाहेकी छिन्। किनकी आमाको संघर्ष, दिदीको सहयोग र जुडो संघको प्रोत्साहनबिना उनको स्वर्ण यात्रा सम्भव थिएन। पुनमकी आमा चितवनकी थिइन् भने बुबा ललितपुरका। पुनम २ वर्षको हुँदा उनका बुबाले छोडेका थिए।
पतिले छाडेपछि उनकी आमा संघर्ष गर्न काठमाडौं छिरिन्। लगन नजिकै डेरामा बस्न थालिन्। छोरीलाई कुनै एनजिओको होस्टलमा राखिन्।

दिदीले एसएलसी पास गरेपछि पुनमलाई होस्टलबाट बाहिर ल्याइन्। त्यतिबेलासम्म आमाले पनि थोरै कमाउन थाल्नु भएको थियो,’ उनले भनिन्।उनीहरूको दु:ख देखेका प्रशिक्षक चन्द्रकुमार डंगोलले पुनमको परिवारलाई सहयोग गर्थे। अनि पुनमलाई जुडो खेल्न प्रोत्सहान गरिरहन्थे। उनै डंगोलको सल्लाहमा पुनमले २०६५ सालदेखि रंगशालाको केन्द्रीय डोजोबाट जुडो सिक्न थालेकी हुन्।

तर उनको परिवार आर्थिक अवस्थाले झनै जेलिन थाल्यो। स्नातक पढ्दै गरेकी उनकी दिदी वैदेशिक रोजगारीका लागि दुबई गइन्। आर्थिक समस्या बढेपछि दिदीले नचाहँदा नचाहँदै पनि पढाई छाडेर विदेश जानु पर्‍यो,’ उनले भनिन्,’ममीले कहिलेकाहीँ मलाई पनि जुडो छोड छोरी भन्नु हुन्थ्यो। खेल नसा न हो, वर्षौं देखि सिकेको त्यतिकै छाड्न कहाँ सकिन्छ र! मेरो पनि एकदिन पालो आउछ भनेर कुरिरहेको थिएँ,’ पुनमले भनिन्, ‘आज त्यो पूरा भएको छ।’

Loading...
प्रकाशित मिति २३ मंसिर २०७६, सोमबार १५:३४