कानुनविपरीत महावु गाउँपालिकामा बहुविवाह गरेको एक जोडीको विवाह दर्ता भएको रहस्य खुलेको छ

दैलेख बहुविवाहलाई कानुनले दण्डनीय भनेको छ। कानुनतः बहुविवाह फौजदारी अपराध हो। तर यहाँको एक स्थानीय तहले नै बहुविवाहलाई वैधानिकता दिएको छ। अर्थात बहुविवाह दर्ता गरिएको छ। महावु गाउँपालिकामा बहुविवाह गरेको एक जोडीको विवाह दर्ता भएको रहस्य खुलेको हो। महावु गाउँपालिका-५ को वडा कार्यालयले दोस्रो विवाहलाई पनि मान्यता दिएर विवाह दर्ता नै गरिदिएको हो।

स्थानीय महेन्द्रबहादुर बुढाले जेठी पत्नी भावना थापामगर हुँदाहुँदै दोस्रो बिहे गरे। महेन्द्रले दोस्रो पत्नीको रूपमा भित्र्याएकी कमलामाई नगरपालिका-१२ सिन्धुलीकी इन्द्राकुमारी बस्नेतसँग वडा कार्यालयले विवाह दर्ता गराइ दिएको छ। आफ्नो पतिले दोस्रो विवाह गरेको र वडा कार्यालयबाट बिहे दर्तासमेत भएपछि यतिबेला भावना न्यायका लागि हारगुहार गर्न थालेकी छन्।

भावनाले सात वर्षअघि महेन्द्रसँग प्रेम विवाह गरेकी थिइन्। बिहे भएको एक वर्षपछि २०७० मंसिरमा छोरी जन्मिइन्। ‘छोरी जन्मेको सात महिनापछि उहाँ रोजगारीका लागि मलेसिया जानुभयो’ भावनाले भनिन्, ‘मलेसिया बसुन्जेल हाम्रो कुराकानी हुन्थ्यो। नेपाल आएपछि श्रीमान् एकाएक सम्पर्कविहीन भएको उनले सुनाइन्। ‘काठमाडौंमा बसेको थाहा पाएपछि मोबाइल नम्बर पत्ता लगाएर जहाँ पायो त्यहीँ नबरालिनुस्, घरमा आउनुस्, व्यापार व्यवसाय गरेर बसौंला भने।

तर उहाँले मान्नुभएन भावनाले भनिन्। सासू दुर्गा बुढा र ससुरा मयालाल बुढाले पनि घरमा बस्न नदिएपछि भावना छोरीसहित महावु-६ एकपाटेस्थित माइतीमा बस्दै आएकी छन्। आफूले ससुरालाई लिएर २०७१ चैत २४ गते छोरीको जन्मदर्ता गराएको बताइन्। जेठी पत्नी भावना र महेन्द्रबाट जन्मिएकी छोरीको जन्मदर्ता गरेको वडा कार्यालयले दोस्रो पत्नी इन्द्राको पनि महेन्द्रसँग बिहे भएको भन्दै विवाह दर्ता गरेको छ। वडा कार्यालयको पञ्जिकरण अभिलेख हेर्दा यसको पुष्टि भएको हो।

वडा कार्यालयले दिएको विवरणअनुसार इन्द्राकुमारी बस्नेतलाई २०७४ जेठमा बिहे गरेको भनि २०७५ पुस ३० गते दर्ता नं. १३ मा विवाहदर्ता गरेको पाइएको छ। मुलुकी अपराध सहिंताले विवाहित पुरुषले अर्को विवाह गर्न नपाइने र दोस्रो विवाहले मान्यता नपाउने कानुनी व्यवस्था छ। महावु गाउँपालिकाका पञ्जिकाधिकारी गोविन्दबहादुर थापाले जेठी पत्नी छन् भन्ने थाहा पाइपाई कान्छीको विवाह दर्ता गराउनु नियतवस गरिएको हुनसक्ने बताए।

यसैबीच वडाध्यक्ष जगतबहादुर हमाल भने कार्यालय सहायकले विवाह दर्ता गरिदिएको भन्दै पन्छिए। उनले भने,‘वडा सचिवले विवाह दर्ताको प्रमाणपत्रमा हस्ताक्षर गरेर बाहिर गएका रहेछन्, त्यही बेलामा कार्यालय सहायकले थाहा नपाएर बिहे दर्ता गरेछन्।’ साथै उनले अब पीडित भावनालाई नाता कायम गर्नका लागि कानुनी प्रक्रियामा जान भन्दै आफू पन्छिन खोजे। यसमा आफूहरुको कमजोरी नभएको उनको दाबी छ।

Loading...
प्रकाशित मिति २८ मंसिर २०७६, शनिबार ०३:२८