यस्तो छ नेपालमा बनेको इलेक्ट्रिक बाइक

काठमाडौँ । नेपालमा बनेको इलेक्ट्रिक बाइक ‘यात्री’ सार्वजनिक भएको छ। ४ जना इन्जिनियर सहितको ७ जनाको टोलीले ‘यात्री’ डिजाइन स्टुडियोको स्थापना गरेर नेपालमै मोटरसाइकलको पहिलो परियोजना प्रोजेक्ट जिरोलाई सार्वजनिक गरेको हो । बाइकको लागि चाहिने सम्पूर्ण पार्टहरु नेपालमै डिजाइन गरेर अमेरिका, चाइना, भारत, र युरोपेली मुलुकका विभिन्न कम्पनीसँग सहकार्य गरेर नेपालमा निमार्ण गरिएको कम्पनीका संस्थापक अशिम पाण्डेले जानकारी दिए ।

उनले भने ‘हामीले सबै काम आफैले गर्यौं, कतिपय पार्टस् बनाउन नेपालमै करोडौं लाग्ने प्लान्ट बनाउनु पर्ने भएकोले नेपालमा डिजाइन गरेर विदेशबाट बनाएर ल्यायौं ।’ यस मोटरसाइकल सहरी क्षेत्र र मोर्डन कनेक्टिभिटीको लागि तयार पारिएको पाण्डेको भनाइ छ । ३० किलोवाट ब्याट्री क्षमताको यस मोटरसाइकल सिङ्गल चार्जमा २ सय ३० किलोमिटर कुद्ने कम्पनीको दावी छ । बाइकमा ४० हर्सपावरको शक्ति छ ।

बाइक निर्माणका लागि कम्पनीले २०१७ देखि रिर्स’चको काम सुरु गरेको थियो भने २०१८ मा नेपालको विभिन्न ठाउँमा गएर सवारी साधन र सडकको बारेमा अध्ययन गरेको थियो । यात्रा गर्दा हुने प्रमुख समस्या पहिचान गरेर त्यही अनुसार मोटर साइकल निमार्ण गरिएको पाण्डेले जानकारी दिए । बाइकमा मेटल नभई कार्वन फाइवर प्रयोग गरिएकोले आकर्षक, हलुका र सुरक्षित रहेको कम्पनीको दावी छ ।

यात्री डिजाइन स्टुडियोले पहिलो चरणमा ५० ओटा मोटर साइकल उत्पादन गर्नेछ । कम्पनीले यसको मूल्य भने सार्वजनिक गरेको छैन । ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले नेपालमै बनेको पहिलो इलेक्ट्रिक मोटर साइकल ‘यात्री’ बुकिङ गरेका छन् । नेपालमा बनेको इलेक्ट्रिक बाइक ‘यात्री’ सार्वजनिक भएको छ।

Loading...
प्रकाशित मिति ४ पुष २०७६, शुक्रबार १७:०८