बिहीबार सूर्योदयपछि खण्डग्रास सूर्यग्रहण लाग्ने

काठमाडौँ बिहीबार सूर्योदयपछि खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । ग्रहणका क्रममा काठमाडौं, महेन्द्रनगर र कञ्चनपुरबाट चन्द्रमाले सूर्यलाई ३९ प्रतिशत र भद्रपुर झापाबाट ३६ प्रतिशत ढाकेको देख्न सकिनेछ । काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा सुरु हुने ग्रहण पश्चिमी नेपालको महेन्द्रनगरबाट बिहान ८ बजेर ३८ मिनेटमा र पूर्वी नेपालको भद्रपुरमा बिहान ८ बजेर ४८ मिनेटमा सुरु हुनेछ ।

काठमाडौंमा ग्रहण अवधि २ घण्टा ५० मिनेट, महेन्द्रनगरमा २ घण्टा ४१ मिनेट र झापामा २ घण्टा ५३ मिनेट रहनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले भने । छिमेकी मुलुक भारतको दक्षिणी भाग कर्नाटक, केरला र तमिलनाडुको केही खण्डबाट यसलाई बलयाकार सूर्यग्रहण (एनुलर) का रूपमा देख्न सकिन्छ । भारतमा बलयाकार सूर्यग्रहणका बेला सूर्यको करिब ९३ प्रतिशत खण्ड चन्द्रमाले ढाकिनेछ ।

बलयाकार पथ साउदी अरबबाट सुरु भएर कतार, ओमान, संयुक्त अरब इमिरेट्स, भारतको दक्षिणी भाग, श्रीलंकाको उत्तरी भाग, मलेसिया, सिंगापुर, सुमात्रा, बोर्नियो हुँदै प्रशान्त महासागरको गुआम टापुमापुगेर अन्त हुने प्लानेटोरियमले जनाएको छ । पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँदा र त्यसको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ । यो सघन छाया र विरल छाया गरी दुई खालको हुन्छ ।

सघन छाया भएको भागमा पूर्ण सूर्यग्रहण अर्थात् खग्रास देखिन्छ । विरल छाया परेको भागमा आंशिक सूर्यग्रहण अर्थात् खण्डग्रास देखिन्छ । बर्सेनि दुईदेखि पाँचपटकसम्म सूर्यग्रहण लाग्छ । पछिल्लो समय सन् १९३५ मा पाँचपटक सूर्यग्रहण लागेको थियो । अब सन् २२०६ को वर्षमात्र यो प्रक्रिया दोहोरिनेछ ।

सूर्यग्रहणलाई नांगो आँखाले हेर्दा दृष्टिमा क्षति पुग्ने विज्ञले चेतावनी दिएका छन् । वरिष्ठ नेत्ररोग विशेषज्ञ प्राडा डीएन साहका अनुसार ग्रहण लागेका बेला सूर्यलाई हेरिरहँदा ‘फोटो रेटिनाइटिस’ अर्थात् आँखाको पर्दामा नकारात्मक प्रभाव पर्छ ।

Loading...
प्रकाशित मिति ९ पुष २०७६, बुधबार १५:०८