नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तुष्ट पक्षको बहिस्कारका बीच केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तुष्ट पक्षको बहिस्कारका बीच केन्द्रीय कार्यसमिति बैठक राखेर निर्णय प्रक्रिया अघि बढाएका छन्। मंसिर २६ गतेदेखि सुरु भएको पार्टीको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै पटक पटक बैठकमा अनुपस्थित रहेपछि सभापति देउवाले शुक्रबारको बैठकबाट बहुमतको आधारमा प्रस्तावित सबै एजेण्डा पास गर्दै पार्टीको एक वर्ष म्याद थप गरेका छन्।

पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म सम्पन्न गर्ने गरी कार्यतालिका पारित, विभागको संख्या बढाएर ४१ पुर्याउने र तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय गरेको बैठकको केन्द्रीय सदस्य डिला संग्रौलाले रातोपाटीलाई जानकारी दिइन् । बैठकमा वरिष्ठ पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुको सहभागिता थिएन। महाधिवेशनको कार्यतालिकासहित विभाग र पार्टीका भ्रातृसंस्थाको विषयमा सहमति गरेर बैठकको सहज सञ्चालनका लागि काँग्रेसमा वार्ता टोली बनाएर दुई सातादेखि निरन्तर छलफल हुँदै आएको थिए ।

उक्त विषयमा प्याकेजमा सहमति जुटाउन देउवा पक्षले उसभापति विमलेन्द्र निधि र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा केन्द्रीय सदस्यद्वय हृदयराम थानी र दिलेन्द्र बडू सदस्य रहेको वार्ता टोली बनाएको छ । तर दुई सातासम्म पनि सहमतिको मिलन विन्दुमा पुग्न नसकेपछि देउवाले बहुमतका आधारमा निर्णय लिएको हुन् ।

यता शुक्रबार पौडेल समूहका वार्ता टोली सं‌योजक प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल समूहको बैठकमा वार्ता टोलीले अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ गरेको थियो । उक्त छलफलमा पौडेल समूहले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकासहित प्याकेजमा सहमति नभएसम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

Loading...
प्रकाशित मिति ११ पुष २०७६, शुक्रबार १४:२९