८० वर्षको उमेरमा बुबा बनेपछि

बुटवल गुल्मीको चन्द्रकोट गाउँपालिका–५ धुवाँखोला निवासी ८० वर्षीय कले परियार यतिबेला सहयोगका लागि हारगुहार गरिरहेका छन् । यो उमेरमा आएर पुत्रलाभ गरेका उनले सुत्केरी श्रीमती र नवजात पुत्रको स्याहार–सुसारका लागि आर्थिक सहयोग जुटाउन दौडधुप गर्नुपरेको हो । नागरिकताअनुुसार ७१ वर्ष उमेर उल्लेख भए पनि आफ्नो वास्तविक उमेर भने ८० वर्ष रहेको उनी बताउँछन् ।

लौरोको सहारामा हिँडडुल गर्ने उनका कलेटी परेका शरीर, खुट्टामा फाटेको चप्पल, शरीरमा न्यानो कपडाको अभावले नै आर्थिक अवस्थालाई उजागर गर्दछ । श्रीमती देवी परियारको कोखबाट १० दिन अघिमात्र छोरा जन्मिएकोमा खुशी देखिएका उनी सुत्केरी उकास्ने र न्वारन गर्ने खर्च नहुँदा आर्थिक सहयोगका लागि दौडधुप गरिरहेका हुन् ।

चन्द्रकोट गाउँपालिकाको वडा नम्वर–५ का अध्यक्ष टेकबहादुर पुनबाट सिफारिसपत्र बनाई उनी गाउँपालिका कार्यालयमा सहयोग माग्न पुगे । के गर्नु हजुर, छोरा त जन्मियो तर सुत्केरी उम्काउने उपाय नभएपछि सहयोग उठाउँदै हिँडेको छु गाउँघरमा चार÷पाँच माना चामल मागेर सुत्केरीलाई खुवाएँ न्वारन गर्न बाँकी छ, सहयोगका लागि गाउँपालिकामा आएको हुँ उनले यो उमेरमा कठ्याङ्ग्रिदो चिसोमा गाउँपालिका कार्यालयसम्म आउनुको बाध्यता सुनाए ।

उनले ९ वर्ष अघि देवी परियारसँग दोस्रो विवाह गरेका रहेछन् । विवाहको दोश्रो वर्ष छोरी जन्मिएको उनले सुनाए । कले र देवीको दोश्रो सन्तानका रुपमा अहिले छोरा जन्मिएको हो । जेठी श्रीमती तुल्सी परियारतर्फ उनका ५ छोरा छन् । तुल्सीको निधन भएको अर्को वर्ष नै कलेले दोस्रो विवाह गरेका हुन् । जेठी तर्फका सबै छोरा बाल्यकालदेखि नै भारतमा मजदुरी गर्न गएका र हाल सम्म फर्केर नआएको उनले बताए ।

सन्तोषी प्राविका शिक्षक पृथ्वीराज पौड्यालका अनुसार पाखुरामा बल हुँदासम्म कलेले मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए । बुढ्यौलीका कारण उनी ज्याला–मजदुरी गर्न सक्दैनन् । बढीमा दुई महिना खान पुग्ने उनको बारी पनि अहिले खनजोत गर्न नसक्दा बाँझै छ । यो उमेरमा छोरा जन्माउँदा कत्तिको खुशी हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘खुशी त लागेको थियो क्यारे, तर सुत्केरी उम्काउन मुस्किल प¥यो ।

Loading...
प्रकाशित मिति २१ पुष २०७६, सोमबार १५:१२