आफ्नै बुवालाई पक्राउ गर्ने एसएसपी

दोस्रो संविधानसभा निर्वाचन तयारी चलिरहेको थियो । सरकारले कुरा सुनेन भनेर ज्येष्ठ नागरिकले आन्दोलन चर्काउँदै लगेका थिए । काठमाडौंको कोटेश्वर केन्द्रित आन्दोलन मीनभवन सारियो । त्यहाँ जहिल्यै धर्ना । जहिल्यै नाराबाजी । त्यसको नेतृत्व शिवप्रसाद ढकालले गर्दै आएका थिए ।

आन्दोलन चर्कंदै गयो । आन्दोलनको प्रकृति परिवर्तन हुँदै गयो । ‘त्यो दिन ?,’ महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख तथा एसएसपी भीमप्रसाद ढकालले सम्झे, ‘मंसिर २६ गते हुनुपर्छ । ज्येष्ठ नागरिकले मीनभवनको सडकमै सुतेर आन्दोलन गर्नुभयो । सडक अवरुद्ध भएको पाँच मिनेटपछि मलाई खबर आयो । तत्काल मिनभवन पुगें ।’

आन्दोलित ज्येष्ठ नागरिकलाई नेपाल कमर्स क्याम्पस मीनभवनका विद्यार्थीले साथ दिएका थिए । ‘५०–६० जना ज्येष्ठ नागरिकले सडकमै सुतेर बाटो अवरुद्ध गर्नुभएको थियो,’ एसएसपी ढकालले सुनाए, ‘बुबाको नेतृत्वमा उहाँहरू सडकमै सुतेर लम्पसार पर्नुभएको थियो । बुबा बीचमा हुनुहुन्थ्यो । विद्यार्थीले प्रहरीलाई पस्न नदिने भनेर ज्येष्ठ नागरिकलाई घेरा हालेर राख्नुभएको रहेछ ।’ विद्यार्थीलाई सम्झाइ–बुझाइ गरेर उनले घेरा तोडे । सर्वप्रथम बुबालाई सम्झाए । माग पूरा नभइन्जेल आन्दोलन जारी राख्ने बुबाले अड्डी कसे । उनले १५ मिनेटजति सम्झाइ–बुझाइ गर्ने असफल प्रयास गरे ।

त्यतिबेला मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी थिए । उनले अध्यक्ष रेग्मीलाई भेट्टाइदिन्छौं भने । त्यतिबेला काठमाडौं प्रहरी प्रमुख एसएसपी सुवोध घिमिरे थिए । ‘उहाँलाई सेटबाटै कल गरें । उहाँले अध्यक्ष रेग्मीसँग भेटघाटका लागि समयसमेत तय गर्नुभयो,’ उनले थपे, ‘र पनि, उहाँहरू मान्नुभएन । उहाँहरूको आठ–दसवटा माग थिए । सबै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उहाँहरूको उद्घोष थियो ।’

त्यतिबेलासम्म सडक अवरुद्ध भएको २५ मिनेट बितिसकेको थियो । काठमाडौंको मुटुको सडक २५ मिनेटदेखि अवरुद्ध हुँदाको असर शब्दमा व्यक्त गर्न कठिन हुन्छ । आन्दोलनकर्ताले कुनै हालतमा पछि नहट्ने जिकिर गरिरहे । ‘मैले सडक अवरोध गर्न दिनु हुँदैनथ्यो । मसँग विकल्प थिएन,’ उनले विगत कोट्याए, ‘अन्ततः बुवालगायत नेतृत्वलाई पक्राउ गर्नुपर्‍यो । पक्राउ पर्दा बुवाले आक्रोश पोख्नुभयो । पक्राउ परेकालाई तीनकुने लगियो । उहाँहरूलाई एक घन्टा हिरासतमा राखियो । हिरासतमा बुवासँग बोलचाल भएन । आन्दोलनकर्ताले हिरासतमा पनि बुवालाई घेरा हालेर राखेका थिए । आन्दोलकर्ता एक घन्टापछि हिरासतमुक्त भए । बेलुका घर पुग्दा बुवासँग भेट भएन ।’

भोलिपल्ट बुवासँग भेट भयो । मैले नै बुवालाई बोलाएँ । ‘तैंले राष्ट्रका लागि निष्पक्ष काम गर्ने रै’छस् भनेर समाजसेवी बुवाले तारिफ गर्नुभयो,’ उनले खुसी व्यक्त गरे, ‘तैंले गरेको काम ठीक छ । मलाई धाप मार्दै यस्तै गर्दै जानु भनेर आशिर्वाद दिनुभयो ।’

त्यतिखेर नयाँबानेश्वर वृत्त इन्चार्ज भीमप्रसाद ढकाल थिए । आफ्नै बुवालाई पक्राउ गरेपछि तात्कालिक इन्चार्ज ढकाल चर्चामा आए । उनका बुवा शिवप्रसाद ढकाल अहिले पनि ज्येष्ठ नागरिकको वरिष्ठ उपाध्यक्ष छन् । ज्येष्ठ नागरिकको आन्दोलन हिजोआज पनि चलिरहेको छ । आफ्नै बुवालाई पक्राउ गर्ने त्यतिखेर नयाँबानेश्वर वृत्त इन्चार्ज भीमप्रसाद ढकाल अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख छन् ।

Loading...
प्रकाशित मिति १३ माघ २०७६, सोमबार १६:५९