चीनबाट उद्धारको पर्खाइमा रहेका नेपालीका अभिभावकहरुको आक्रोश– ‘के मरेपछि मात्रै ध्यान जाने हो? ’

काठमाडौँ — पाटन, मंगलबजारका ताम्राकार दम्पत्ती हिजोआज उदास छन् । हसाना र नेमकृष्ण ताम्राकार कहिले आफ्नो छोरीलाई नजिकबाट हेर्न पाउँला भन्ने आशमा बाटो कुरेर बसिरहेका छन् । चीनमा पीजी अध्ययनरत २९ वर्षीया छोरी सहाना २ हप्तादेखि कोठामा थुनिएर बसेको छ भन्ने थाहा पाएपछि हसाना रातभर निदाउन सक्दिनन् ।

चीन अनि विश्वमा नै कोरोना भाइरसको जालो फैलिँदै गएको समाचार सुनेपछि ती दम्पत्तीको मन बेचैन छ। दुवैको मन अस्थिर बनेको छ। कोरोना भाइरसले मान्छे मरिरहेको सुन्दा आफ्नो छोरीलाई केही भइहाल्छकी भन्ने डरले डेरा जमाएको छ उनको मनमा। पछिल्लोपटक सहाना हिउँदे बिदामा आएकी थिइन्। करिब डेढ महिनाजति बसेर उनी डिसेम्बर १९ तारिखमा चीन उडेकी थिइन्।

‘मेरी छोरी त डेरामा एक्लै बसेकी छ रे, धेरै डराएकी छ नी, सरकारले खै कहिले ल्याइदिने हो?’ हसानाले निन्याउरो मुख लगाएर भनिन्। हसाना जस्तै चीनमा रहेका नेपालीहरुका अभिभावकहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आफ्नो गुनासोको चाङ लिएर उभिएका थिए। बिहीबार बिहान ११ बजेदेखि ज्ञापनपत्र हातमा बोकेर मन्त्रालयका विभिन्न पदाधिकारीका धाउँदा उनीहरु थकित देखिन्थे। घरी प्रवक्ता घरी मन्त्रीको कोठामा आफ्ना आग्रहको सुनुवाइ होस् भन्ने आशाले छिर्थे। तर भित्र कसैको पनि जवाफ नआउँदा आक्रोश तथा निराशापूर्ण अनुहरा लिएर आउँथे।

Loading...
प्रकाशित मिति २३ माघ २०७६, बिहीबार १७:५५