सेना दिवस र शिवरात्रि पर्वको संयोग

आज महाशिवरात्रि बढाईं तथा सेना दिवस । नेपालकै गौरवमय इतिहास बोकेको नेपाली सेनाले सँधै झैं यो बर्ष पनि महाशिवरात्रिको दिन अर्थात शुक्रबार सेना दिवस मनाउँदैछ ।

सेनाले वि.सं. २०४७ सालदेखि महाशिवरात्रिको दिन पारेर सेना दिवस मनाउन शुरु गरेको हो । सुरक्षा मामिला विज्ञ डा. दिपकप्रकाश भट्टका अनुसार नेपाली सेनाको ‘सेना दिवस’ शिवरात्रिकै दिन हुनु संयोग मात्र होइन, यो अर्थपूर्ण पनि छ ।

‘शिव’ चेतनाको प्रतीक हुन् र शक्तिपनि हुन् । यति मात्र होइन शिव इश्वर हुन र इश्वर भनेको सत्य हो । शिवमा ध्यान अवस्थामा स्थिर रहने र परेको बेला ध्वंस गर्न सक्ने दुवै गुण छन् । त्यसैले पनि यी दुईबीचको समनता देखिएको डा. भट्ट बताउँछन् । उनले भने, ‘शिवरात्रिमा सैनिक दिवस मनाउनु सत्य र चेतना शक्तिलाई आत्मसात गर्नु हो ।

इतिहास हेर्ने हो भने स्थापनाकालदेखि नै नेपाली सेनालाई धर्म र संस्कारमा सामाजिकीकरण गराइएको छ । यति मात्र होईन नेपाली सेनाको लोगोमा रहेको हरियो षठकोणभित्रको डमरु र त्रिशूलको समायोजनको समेत धार्मिक र दार्शनिक अर्थ छ ।

डा.भट्टका अनुसार लोगोमा उल्लेखित चित्रहरुले शिवलाई संकेत गर्छन् । जुन हिन्दु दर्शन अनुसार सृष्टिकर्ता, संरक्षणकर्ता र संहारकर्ता हुन् ।

इतिहासको विभिन्न कालखण्डदेखि नै नेपाली सेनाका अधिकांश कम्पनी देवीदेवताका नाममा छन् । अहिले पनि हरेक जसो व्यारेकमा पनि विभिन्न देवी देवताको मठमन्दिर बनाइएको छ ।

यसका आलवा कम्तिमा दुईजना मूल र सहायक गरी अमल्दारदेखि सह-सेनानी पद सम्मका पुजारी र पण्डित समेत राखिएको हुन्छ । उनीहरुले पर्वविशेषमा मात्र होइन, दैनिक रूपमा देवीदेवताको पूजा गर्छन् ।

इतिहासविद् दिनेशराज पन्तका अनुसार महाशिवरात्रि पर्वका दिन नेपाली सेनाको स्थापना दिवस संयोग मात्र होइन, तत्कालिन राजा पृथ्वीनारायण शाहको कमाण्डमा नेपालको पहिलो सैनिक संरचना शिवरात्रि कै दिन बनेको इतिहास साक्षी छ ।

इतिहासविद्हरुको दाबी अनुसार नेपाली सेना स्थापनाको एउटै मिति नभएको र विभिन्न मितिमा संगठित भएकाले महाशिवरात्रिलाई सेना दिवसका रुपमा मनाउने गरिएको हो ।

Loading...
प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार ०८:५२