दुई महिनाको छोरालाई कलेजो दिएर बचाउने महेश ‘छोरालाई जीवन दिएँ, अब भविश्य दिनुछ’

फागुन, काठमाडौं । विवाह गरेको चार वर्षसम्म महेशप्रसाद र गीता अवस्थीले सन्तान जन्माएनन् । यसबीचमा समाज र आफन्तहरु उनीहरुलाई प्रश्न गर्थे– बच्चा कहिले ?

सन्तानको रहर त उनीहरुलाई पनि थियो । तर गीता काठमाडौं बसेर अंग्रेजीमा स्नातकोत्तर गर्दै थिइन् । महेश बैतडीमा रेडियो सञ्चालनमा व्यस्त । त्यसैले उनीहरुको योजना थियो, गीताको एमएको पढाइ सकिएपछि मात्र सन्तान जन्माउने ।

०७५ मा गीताको पढाइ पनि सकियो । उनको पेटमा भ्रुण हुर्कन थाल्यो । सन्तान र श्रीमतीको स्याहारका लागि महेशले तीन–चार लाख रुपैयाँ बैंकमा जम्मा पारिसकेका थिए । गीताको पेटमा शिशुले लात्ति हान्न थालेपछि अवस्थी दम्पत्तिको खुशी दुई गुणा भयो । नियमित स्वास्थ्य जाँच गराइरहे, शिशुको अवस्थाबारे अस्पतालले कुनै खराब रिपोर्ट दिएको थिएन ।

तर गीताले सन्तानलाई संसार देखाउन आफ्नो पेट चिर्नुपर्ने भयो । २४ असोज, २०७६ मा शल्यक्रियामार्फत गीताले छोरा जन्माइन् । ‘पाँच वर्षको प्रतिक्षापछि छोरालाई समाउँदा यति खुशी भएको थिएँ कि त्यसलाई शब्दमा वर्णन गर्न सक्दिनँ’, महेश सम्झिएरै दंग पर्छन् । शिशु जन्मिएपछि हस्पिटलले भन्यो, ‘बच्चामा सोडियमको मात्रा थोरै कमी छ । एक दिन मेन्टेन गरे पुग्छ ।

चार दिनपछि ह्याम्स अस्पतालको बेडबाट निस्किएर शिशुसहित अवस्थी दम्पत्ति सुकेधारास्थित कोठामा पुगे । बैतडीबाट महेशका आमा बा र आफन्त खुशी साट्न काठमाडौं आइपुगेका थिए । हर्षोल्लासमै न्वारान गरियो । छोराको नाम महेशले नै जुराए – शिवान्स अवस्थी ।

शिवान्सले धर्ती टेकेको १३ दिन मात्र भएको थियो । रातको ११ बजेपछि अस्वाभाविक रुपमा रुन थाले । कात्तिक महिना । छोरालाई चिसो पो लाग्यो कि ? उनीहरु छोरोलाई सेके, गीताले दुध चुसाइन्, न्यानो पारेर सुताउन खोजिन् । अहँ ! शिवान्सको रुवाइ रोकिएन । शिशुका लागि रुनु नै अभिव्यक्तिको एक मात्र माध्यम हो । भोक लाग्दा पनि रोयो, रोग लाग्दा पनि, दुख्दा पनि रोयो । किन रोयो ? पहिल्याउन भने अविभावकलाई महाभारत ।

अर्को दिन हेर्दा शिवान्सको पेट भुक्क फुलेको थियो । एकाविहानै महेश र गीताले छोरालाई कान्ति बाल अस्पताल पुर्‍याए । डाक्टरले आकस्मिक कक्षमा राखेर शिवान्सलाई औषधी र सुइ दिए । दुई घण्टापछि अस्पतालले भन्यो, ‘बच्चाको अवस्था अलि जटिल भएकाले एनआईसीयूमा राख्नुपर्छ । तर हामीकहाँ बेड खाली छैन ।

छोराको रुवाइ रोकिएकै थिएन । बाबुआमालाई सकस भयो । महेशले अनुनय गरे, ‘सरकारी अस्पताल भनेर विश्वास गरेर आएको, कृपया मिलाइ दिनु न ? यति सानो बच्चा बोकेर कहाँ–कहाँ धाउने ?

शिवान्सलाई नजिकैको त्रिवि शिक्षण अस्पताल पुर्‍याइयो । धन्न अस्पतालले भर्ना लियो । एनआईसीयूमा राखेर उपचार थालियो । बाबुआमाले बल्ल लामो सास फेरे ।

तर फेरि बेचैनी शुरु भयो । शल्यक्रिया गरी सन्तान जन्माएकी गीताले छोरालाई छातीमा सुताउने धोका पूरा नहुँदै अस्पतालको भुइँमा सुत्नु परेको थियो । डाक्टर त भन्दैथिए, ‘हामी हेर्दै छौँ, आत्तिनु पर्दैन ।

अस्पतालको चिसो भुइँ । कक्षभरि मान्छे । रात परेपछि महेश र गीता ग्यालरीमा कार्पेट ओच्छ्याएर पल्टिन्थे । गीताको खुट्टा चिसोले सुन्निएर बडेमान भएको थियो । छोरालाई चुसाउन नपाउँदा दुध गान्निएर अर्को पीडा थपिएको थियो ।

महेशको सकस बढ्दै गयो । छोराको चिन्तासँगै सुत्केरी पत्नीलाई पनि सम्हाल्नु थियो । ‘गीताको अवस्था यस्तो भएको थियो कि केही पनि सम्झिन छाडिसकेकी थिइन् । मात्र रोइरहन्थिन्’, महेश आँशु लुकाउँदै बोल्छन्, ‘म आफैं पनि सम्हालिन नसक्ने अवस्थामा पुगेको थिएँ ।

महेश दिनमै कैयौँ पटक डाक्टरलाई सोध्न पुग्थे, ‘डाक्टर सा’ब के भएको हो मेरो बावुलाई ?’ डाक्टरले रेडिमेड उत्तर मात्र दिन्थे, ‘नर्मल छ । इन्भेस्टिगेसन गर्दैछौं । केही हुन्छ कि भनेर कोशिस गरिरहेका छौं । त्यस्तो केही भयो भने भन्छौं ।

Loading...
प्रकाशित मिति २० फाल्गुन २०७६, मंगलवार ०४:३४