ब्रिटिस सेनामा भर्ती भयका जुम्ल्याहा

काठमाडौँ — अनुहार उस्तै । रहर उस्तै । संयोगले जुम्ल्याहा दाजुभाइ धैर्यशील र क्रियाशील राईको पेसा पनि एउटै भएको छ । भोजपुरको ट्याम्के मैयुङ गाउँपालिका–८ गोगनेका यी दाजुभाइ एकसाथ ब्रिटिस गोर्खा सैनिकमा भर्ती भएका छन् । पोखरामा हालैको छनोट चरण पार गर्दै उनीहरू ‘लाहुरे’ बनेका हुन् ।

दाजु धैर्यशील बीबीए सातौं सेमेस्टरमा र क्रियाशील बीबीएस दोस्रो वर्षमा पढ्दै थिए । उनीहरूका बुबा शिवकुमार भने छोराहरूलाई नेपाल सरकारको अधिकृत भएको देख्न चाहन्थे । ‘छोराहरू भर्ती भएर जाऊन् भन्ने लागेको थिएन तर दबाब दिइनँ । उनीहरूले आफ्नो इच्छा पूरा गरेका छन्, त्यसैमा खुसी लागेको छ,’ उनले भने । आफ्ना दाइ परिवारसहित बेलायतमै रहेकाले पनि छोराहरूलाई नरोकेको शिवकुमारले बताए । २१ वर्षीय जुम्ल्याहा दाजुभाइले राजधानीको क्लासरूम एकेडेमीबाट प्रशिक्षण लिएका थिए ।

‘प्रशिक्षणमा आउँदा दाजुभाइ छुट्याउनै गाह्रो भयो,’ एकेडेमीका प्रबन्ध निर्देशक विनोद राईले भने, ‘भाइ नामजस्तै क्रियाशील छन् ।’ब्रिटिस गोर्खा सैनिकमा यस पटक ५४ जिल्लाका २३ जातजातिका ४ सय ३२ युवा भर्ती भएका छन् । जानकारका अनुसार यो संख्या र प्रतिनिधित्व अहिलेसम्मकै बढी हो ।

ब्रिटिस गोर्खा सैनिकमा भर्ती हुन थालेको २ सय ६ वर्ष पुगेको छ । बेलायतले सुरुवाती बखतमा राई, लिम्बू, गुरुङ, मगर, तामाङ जातिबाट भर्ती गर्थ्यो । अहिले पहाड, हिमाल र तराईका सबै जातजातिका युवालाई भर्ती लिने गरेको छ । बेलायतले ब्रिटिस गोर्खा सैनिक भर्ती हुनेको संख्या बढाएको छ । सन् २०१८ सम्म ३ सय २० जनाको दरले भर्ती गर्थ्यो ।

गत वर्ष ४ सय जना भर्ती लियो । अहिले ब्रिटिस गोर्खामा फस्ट रोयल गोर्खा रेजिमेन्ट(वानआरजीआर) र सेकेन्ड रोयल गोर्खा रेजिमेन्ट (टूआरजीआर) मात्र रहेका छन् । सन् २०२१ देखि ‘थ्रीआरजीआर’ थप्ने नीति लिइएपछि क्रमशः नेपालबाट भर्ती संख्या बढाइएको हो ।

‘ब्रिटिस आर्मीमा ६ हजार सेनाको संख्या अपुग छ । बेलायती गोराहरू आर्मीमा भर्ती हुन चाहँदैनन् । भइहाले थोरै वर्षमै छाड्छन्,’ ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एसबी घिसिङले भने, ‘नेपाली युवा बेरोजगार, मिहिनेती, इमानदार भएकाले बेलायत सरकारले छानीछानी लान्छ ।’ उनका अनुसार कार्यरतहरूको सेवा अवधि बढाइएको छ भने ब्रिटिस गोर्खाको एउटा बटालियन थपिएको छ ।

बेलायत सरकारले नेपाली महिलालाई समेत सैनिकमा भर्ती गर्न दिने नीति अघि सारेको छ तर नेपाल सरकार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बेलायत सरकारले भूतपूर्व ब्रिटिस सैनिकको समस्या समाधान नगरेसम्म ब्रिटिस सेनामा महिला भर्ती गर्न नहुने भनेको छ । सत्याग्रह, भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघ (गेसो) लगायतले समानाताको मुद्दा उठाउँदै आएका छन् ।

Loading...
प्रकाशित मिति २४ फाल्गुन २०७६, शनिबार ०६:५२