कतारमा दुई हजार नेपाली क्‍वारेन्टाइनमा

काठमाडौँ — कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् ।कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो । उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन । क्वारेन्टाइनमा रहेका नेपालीले आफूहरूको स्वास्थ्य सुरक्षाका लागि नै क्वारेन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरेका छन् ।

हामीलाई राखिएको ठाउँका आठवटा बिल्डिङमा फरकफरक कम्पनीमा काम गर्ने नेपाली छन् । यहाँका दुईवटा बिल्डिङमा बस्ने दुई जनालाई कोरोना संक्रमण देखिएपछि सबैलाई क्वारेन्टाइनमा राखिएको हो,क्वारेन्टाइनमा बसेका धनुषाका एक नेपालीले कान्तिपुरसँग भने,हाम्रो स्वास्थ्य जाँच गर्न हमाद अस्पतालबाट डाक्टर आए,सबै जाँच गरेर गए । रिपोर्ट आइसकेको छैन ।

क्वारेन्टाइनमा बस्नेमा कोठाभाडामा लिई बसेका नेपालीहरू पनि छन् । त्यसमा धेरैजसो सेल्सम्यानको काम गर्नेहरू छन् । खाना हमाद अस्पतालबाटै आउँछ । कुनै समस्या छैन, उनले भने, सुरुसुरुमा डर लागेको थियो । अब सामान्य लाग्न थालेको छ । त्यही परिसरभित्र रहेका अर्घाखाँचीका एक नेपालीले सुरक्षा व्यवस्था निकै कडा रहेको बताए ।

बाहिर गेटमा कतारी सुरक्षाकर्मीले पहरा दिइरहेका छन् । गेटबाट बाहिर निस्कन दिइएको छैन । कम्पनीका मान्छेलाई पनि भित्र आउन दिइएको छैन । कम्पनीले कुनै कुराको कमी हुन दिएको छैन । साथीहरूको घरमा पैसा पठाउनु परेमा आफैंले पठाइदिएको छ,’ उनले भने,यो निगरानीलाई हामीले सकारात्मक रूपमा लिएका छौं । सनैयाकै अर्को क्याम्पमा रहेका झन्डै तीन हजार कामदारलाई बाहिर निस्कन दिइएको छैन । उनीहरूले किनमेल गर्ने बजारमा संक्रमित भएको कामदार भेटिएपछि सबै कामदारलाई स्वास्थ्य परीक्षण गर्न लागिएको हो । ‘हामी जहाँ किनमेल गर्न जान्थ्यौं, त्यहाँ कोरोना भाइरस लागेको एकजना भेटिएछ ।

कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ सय ३७ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा राखिएका कामदारहरूमै संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । संक्रमण देखिएकामध्ये चार जना उपचार सफल भएर क्याम्पमा फर्केका छन् । उनीहरू जोर्डनी, फिलिपिनो, इरानी र सुडानी नागरिक हुन् । हालसम्म नेपालीको विषयमा केही सार्वजनिक भएको छैन ।

Loading...
प्रकाशित मिति ३ चैत्र २०७६, सोमबार १५:२९