ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई प्रहरीको नमस्कार

काठमाडौं । प्रहरीको आचरणका बारेमा बेलाबेलामा प्रश्न उठ्ने गरेको छ । अनावश्यक ठाउँमा बल प्रयोग गर्ने, सामान्य गल्तीमा पनि ठूलो एक्सन लिने जस्ता ब्यवहारका कारण प्रहरीको आलोचना हुने गरेको हो । तर ट्राफिक प्रहरीले भने नियम उल्लंघन गर्नेहरुलाई पनि नमस्कार गर्ने भएका छन् । ट्राफिक प्रहरीले नियम उल्लंघन गरेका चालक र सहचालकलाई चिट काट्ने सिट्ठी फुकेर लखेट्ने लगायतका गतिविधि गरेको त देखिएको छ । तर अब भने ट्राफिक प्रहरीको फरक ब्यवहार देख्न पाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान शुरु गरेको छ।

नियम उल्लंघन गर्ने सवारी चालक र सहचालकले अब ट्राफिक प्रहरीको हप्की खानु पर्दैन । अबदेखि सवारी नियम उल्लंघन गर्ने चालकलाई सडकमा तैनाथ ट्राफिक प्रहरीले कारबाही गर्नुभन्दा पहिले नमस्कार गर्नेछन्। उनीहरुको ब्यवहारमा परिवर्तन आउने भएको छ ।

नियम उल्लंघन गरेवापत कारवाही भने भोग्नु पर्नेछ तर त्यो पनि नमस्कारका साथमा । पहिला ट्राफिक प्रहरीले नमस्कार गर्नेछन् त्यसपछि आवश्यकताअनुसार कानुन कार्यान्वयनका लागि कारबाही गर्नेछन् । अथवा आवश्यकता अनुसार सम्झाइ बुझाइ गर्नेछन्। त्यस्तै ट्राफिक नियम पालनामा सर्तक रही प्रवृत्तिको विकास गर्न समेत सुझाउने छन्।

ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकहरूलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आत्मीयता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार अभियान सुरूवात गरको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताएका छन् । उनले यो ट्राफिक प्रहरीको नयाँ नियम नभएपनि कार्यान्वयमा नआएका कारण पुनर्जागरण गर्न लागिएको बताए ।

Loading...
प्रकाशित मिति ३ चैत्र २०७६, सोमबार १७:०६