रायपुरः संसारभरी कोभिड–९ का नामले जानिने कोरोना भाइरसको संक्रमणले त्रास फैलाइरहेका बेला भारतमा भने एक दम्पत्तिले आफ्ना छोराछोरीको नाम अचम्मको राखेका छन् । छत्तिसगढको रायपुर मेडिकल कलेजमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी प्रिति बर्मा र उनका श्रीमान विनय बर्माले नवजात शिशुहरुको नाम नै कोभिड र कोरोना राखेका हुन ।
एक साता अघि जन्मिएका जुम्ल्याहा शिशुको दुई दिन अघि नामाकरण गरिएको हो । उनीहरुले छोराको नाम कोभिड र छोरीको नाम कोरोना राखेका छन् । श्रीमती बर्माका अनुसार, कोरोनालाई लिएर मानिसमा त्रास फैलिएकोले यसबारेको मनोविज्ञान परिवर्तन होस् भन्ने उद्देश्यले छोराछोरीको नाम नै कोभिड र कोरोना राखिएको हो ।
“हामीले धेरै चुनौती खेप्यौँ, म र मेरा श्रीमान् यो दिनलाई विशेष बनाउन चाहन्थ्यौँ।” उनले आफूलाई मार्च २६ तारिखका दिन बेथा लागेको बताएकी छन्। लकडाउनको अवधिमा अस्पताल आउन निकै सङ्घर्ष गर्नुपरेको उनले भारतीय सञ्चारमाध्यमलाई बताएकी छन्। उनले मार्च २७ मा जुम्ल्याहा जन्माएकी थिइन्।
“यो भाइरस खतरनाक छ, तर यसकै कारण मानिसहरूले स्वास्थ्य र राम्रो आनीबानीमा ध्यान दिन जोड दिइरहेका छन्। त्यही भएर हामीले यी नाम छानेका हौँ।” अस्पतालका कर्मचारीलेहरूले ती जुम्ल्याहा जन्मिएलगत्तै कोरोना र कोभिड भनेर बोलाउन थालिएको र त्यसले उनीहरूका अभिभावकलाई उक्त निर्णय लिन सजिलो भएको जनाएका छन्। बर्मा परिवारको यो निर्णयको कतिपयले स्वागत गरेका छन् भने केहीले आलोचना गरेका छन् ।