तत्काल लकडाउन हट्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारी संयन्त्रको अर्को विकल्प नभएको बताउनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले सरकार स्वयंले अथोरिटीका साथ काम गरेकाले यसमा कुनै अर्को संयन्त्र आवश्यक नभएको बताउनुभएको हो ।

लकडाउन लागू भएयता पहिलोपटक प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रण रोकथाम र उपचारका सन्दर्भमा पालिका र सबै प्रदेशहरुमा भइराखेका कामहरुको जानकारी लिनुभएको हो । भिडियो कन्फ्रेन्समा मुख्यमन्त्रीहरुले कोभिड–१९ का विरुद्धमा आ–आफ्नो प्रदेशमा भएका प्रयासहरुको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले सीमा नाकामा कडाई गरी लकडाउनको पूर्ण रुपमा पालना गर्न गराउन सातै प्रदेशका मुख्य मन्त्रीलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

सीमा नाकामा कडाइ गरिने, लकडाउनलाई निरन्तरता दिने र संक्रमणको खतरालाई कुनै पनि भावुक कुराहरु गरेर लापर्वाही नगरिने विषयमा मुख्यमन्त्रीहरुलाई स्पष्ट हुन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको थापाले बताउनुभयो । अहिले भइराखेका प्रयासहरु समन्वयात्मक ढङ्गले अझ प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको थापाले उल्लेख गर्नुभयो । भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने सम्भावना नभएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

नागरिकमा मनोवैज्ञानिक त्रास नहोस् भन्नका लागि सबै तहका सरकारले ध्यान दिनुपर्ने, क्वारेनटाइनको व्यवस्था गर्नुपर्ने, अनिवार्य क्वारेनटाइनमा राख्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको थियो । कन्फ्रेन्समा सबै प्रदेशका मुख्यमन्त्रीहरुले संक्रमणको अवस्था खतरापूर्ण हुँदासम्म लकडाउन प्रति नरम हुन नहुने सुझाव दिएको प्रेस सल्लाहकार थापाले बताउनुभयो ।

Loading...
प्रकाशित मिति २९ चैत्र २०७६, शनिबार १५:१४