लकडाउनका कारण भारतमा अङ्गुरको भाउ २ रुपैयाँ किलो !

भारत। कोरोना भाइरसको लकडाउनका कारण भारतमा अङ्गुरको भाउ किलोको २ रुपैयाँ पुगेको छ । भारतको महाराष्ट्रमा ठूलो मात्रामा उत्पादन अङ्गुरको अप्रिल र मार्च मुख्य सिजन हो । तर स्थानीय बजारसहित नेपाललगायत विदेशमा पनि निर्यात हुने अङ्गुर यस सिजन भने बोटमै कुहिने खतरा बढेको छ ।

मजदुर र बजारको अभावका कारण करोडौंको अङ्गुर खेर जाने अवस्थामा पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतका अङ्गुर कृषकका अनुसार त्यहाँ २५ सय देखि ३ हजार करोडको अङ्गुरको उद्योग रहेकोमा यसपालि यसको ४० प्रतिशत प्रभावित हुने सम्भावना देखिएको छ ।

महाराष्ट्रमा मात्रै ३ लाख हेक्टरमा खेती गरिने अङ्गुर डिसेम्बर देखि नै बजारमा देखिने गर्छ । अघिल्ला सिजन शुरूवातमा स्थानीय बजारमा प्रतिकिलो १ सय रुपैयाँँ सम्म कारोबार हुने अङ्गुर पिक सिजनमा पनि प्रतिकिलो ७० रुपैयाँँसम्म कारोबार हुने गरेकोमा यसपटक भने अङ्गुरको किलोको २ रुपैयाँमा कारोबार भएको कृषकहरुले बताएका हुन् ।

कतिपय कृषकले सो मुल्य पनि नपाउँदा अङ्गुर बोटमै कुहाउन बाध्य हुने पनि बताइएको छ । सीमित बजार तथा निर्यातमा पनि ठुला ठुला फार्महरुले कब्जा जमाउँदा साना किसान मुख्यरुपमा मर्कामा परेको जनाइएको छ । २०१९ को सिजनमा पनि बेमौसमको वर्षा र असिनाले त्यहाँको अङ्गुर खेती प्रभावित पारेको थियो ।

प्रकाशित मिति २ बैशाख २०७७, मंगलवार ०९:४३