नयाँदिल्लीबाट नेपाल आएका दुई नेपाली मुस्लिममा काेराेना आरडीटी परीक्षण पोजिटिभ

राजविराज । नयाँदिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये दुई जनाको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार मंगलबार गरिएको ७ जनाको र्‍यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) मा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको छ। अन्य ५ जनाको रिर्पोट नेगेटिभ आएको डा. दासले जनाए ।

रिपोर्ट पोजेटिभ देखिएकामध्ये एकजना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका भएको उनले जानकारी दिए । पोजिटिभ देखिएकाहरुलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आईसोलेसनमा राखिएको छ भने बाँकी ५ जनालाई खडग नगरपालिकाको क्‍वारेन्टाइनमा पठाइने डा. दासले जनाए । पोजिटिभ र नेगेटिभ रिपोर्ट आएकाहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

गत मार्च ८ र ९ तारिखमा दिल्लीको निजामुद्धिनमा भएको तबलिकी जमातमा सहभागी भई आफ्नै घरमा बसिरहेका ७ जनालाई स्थानीय जनप्रतिनिधि र जिल्लास्थित उच्च संयन्त्रले सूचना पाएपछि घरबाटै परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । १ जनाको अझै खोजी भइरहेको छ ।

उनीहरुमध्ये ३ जना सप्तरीको खडग नगरपालिकाका तथा राजविराज नगरपालिका, सुरुङगा नगरपालिका र तिलाठी कोइलाडी, बिष्णुपुर र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका १–१ जना रहेका छन् ।

सप्तरीको डिमनस्थित मस्जिदमा ११ जना भारतीय भेटिएका छन्। उनीहरु लकडाउनभन्दा केही अघिबाटै उक्त मस्जिदमा बस्दै आएको र सबैजना भारतको इन्दौरका रहेको खुलेको छ । ११ जना भारतीयलाई उक्त मस्जिदमै क्‍वारेन्टाइन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आनन्दकुमार ठाकुरले बताए ।पुर्बेलीन्युज

Loading...
प्रकाशित मिति ३ बैशाख २०७७, बुधबार ०६:५८