लकडाउनको बेला पैदल हिनेर घर जाने यात्रु लाई दाउन्नेमा ५ घण्टा रोक्यो

नवलपरासी — लकडाउनका बेला पूर्वपश्चिम राजमार्ग हुँदै हिँडेर गन्तव्यतर्फ लागेका यात्रुलाई सुरक्षाकर्मीले दाउन्नेमा ५ घण्टा रोकेर छाडेका छन् । २ सयभन्दा बढी यात्रुलाई बुधबार साँझ ८ बजे छाडिएको हो ।

बुधबार दिउँसो ३ बजेबाट ५ नम्बर प्रदेशका सेना, सशस्त्र र नेपाल प्रहरीले गण्डकी प्रदेशको दाउन्नेमा यात्रुलाई जाँच गर्दै आउजाउ गर्ने कागजपत्र मागेका थिए।

कागजपत्र नभएको भन्दै रोकिएपछि यात्रुले सरकारविरुद्ध नाराबाजी गरेका थिए। दाउन्नेस्थित एक होटलका सञ्चालक विष्णु गुरुङका अनुसार ती यात्रु गोरखा, कास्की, लमजुङ, काठमाडौं, काभ्रेबाट हिँडेर आइपुगेका थिए।

स्थानीयले टाढाटाढाबाट घर हिँडेका यात्रुलाई अलपत्र पार्न नहुने भन्दै तत्काल जान दिन सुरक्षाकर्मीलाई आग्रह गरेका थिए। उनीहरूलाई रोक्दा खान–बस्न समस्या हुने र दाउन्नेमा कोरोना संक्रमण फैलन सक्ने भन्दै स्थानीयले विरोध जनाएका थिए।

राजमार्गमा हिँड्दै गरेका कतिपय यात्रुलाई गैंडाकोट प्रहरीले बुटवलतर्फ जाँदै गरेका ट्रकमा चढाएर पठाएको थियो। अधिकांश यात्रु हिँडेरै दाउन्ने पुगेका थिए। हरेक दिन लकडाउन अवज्ञा गर्दै नवलपरासीस्थित पूर्वपश्चिम राजमार्गमा बाक्लै गाडी सञ्चालन हुँदै आएको छ।

पूर्वी नवलपरासीका एसपी दीपक रेग्मीले अधिकांश यात्रु काठमाडौंबाट आएकाले रोक्न नसकिएको बताउँछन्। बुधबार दिउँसो एक घण्टाभित्र आफ्नो एरियामा २ सय यात्रु देखिएको उनले सुनाए। ‘अन्यत्रबाट जिल्ला भित्रिएका यात्रुलाई डिस्ट्यान्समा राखी चाउआउ र पानी बाँडेर गन्तव्यतिर जान दिनेबाहेक उपाय छैन,’ उनले भने, ‘राख्ने क्वारेन्टाइन छैन।’

५ नम्बर सरकारलाई बढी प्रेसर आएका कारण दाउन्नेमा सेना राखेर रोक्न खोजेको आफूले बुझेको उनले सुनाए। ‘यो राष्ट्रिय समस्या हो। नवलपरासीमा आइसकेका यात्रुलाई रोक्न सकिन्न। सम्बन्धित जिल्लाबाट निस्कनुअघि नै रोक्न आवश्यक छ,’ उनले भने।

Loading...
प्रकाशित मिति ४ बैशाख २०७७, बिहीबार ०४:४०