२ महिने छोरो च्यापेर धादिङबाट हिँड्दै बुटवल, पुग्नु छ प्युठान

धादिङबाट ४ दिनको पैदलयात्रापछि बुटवल हुँदै यति बेला गणेश विकको परिवार प्युठानसम्मको यात्रामा छ । लकडाउनका कारण गणेशको परिवार ४ दिनदेखि भोक, तिर्खा, थकान केही नभनी हिँडेको छ ।

धादिङको इँटाभट्टामा काम गर्ने गणेश परियार २ महिने सुत्केरी श्रीमती, २ महिनाको छोरा, बुढा भएका बुबालाई लिएर घर हिँडेका छन् । इँटाभट्टामा काम बन्द भएपछि गणेश २ महिने छोरा काखमा च्यापेर घर हिँडेका हुन् ।

‘साथमा भएको ३/४ हजार पनि सकिन थाल्यो । यो बेला श्रीमतीलाई पोषिलो खानेकुरा खुवाउनुपर्ने बेलामा भोक लाग्दा खाना र तिर्खा लाग्दा पानीसमेत दिन सकेको छैन,’ भावुक हुँदै गणेशले भने । प्युठान पुग्न अझै ३ दिन लाग्ने भए पनि गणेशसँग बाटोमा आवश्यक पर्ने पैसा छैन । जसोतसो बाटोमा केही भेटिए खाँदै हिँड्ने गरेका छन् ।

इँटाभट्टाका करिब ३ सय मजदुर भट्टा बन्द भएपछि त्यहीँ अलपत्र परे । तर, उनी भने हिँडेरै घरसम्म पुग्ने अठोट लिए । ‘न राहत पाइने, न कसैले खान दिने, काम गर्ने ठाउँ नै बन्द भएपछि कसरी बस्नु, के खानु ? मरे पनि घरमै मरूँला भनेर सुत्केरी श्रीमतीलाई लिएर हिँडेको हुँ,’ उनले भने ।

ललितपुरमा खानेपानी निर्माणमा काम गर्दै आएका बर्दियाका रोशन थारूसहितको ६ जना टोली पनि सडकमा हायलकायल भएर हिँडिरहेकाे छ । लकडाउन छिट्टै खुल्ने आशामा ललितपुरमै बसेका उनीहरूले लकडाउन लम्बिएपछि घर जाने निधो गरेका हुन् ।

‘काम लगाउने ठेकेदारले बिदा दियो, पैसा पछि दिन्छु भनेको छ । कहिलेसम्म बन्द हुने हो, केही थाहा नभएपछि हिँडेरै घर जाने भनेर आएका हौँ,’ उनले भने ।

३ दिनको यात्रापछि बुटवल आएका रोशन घरमा मर्न परे पनि बुबाआमाको साथमा मरूँला भनेर हिँडेकाे बताउँछन् । ‘खर्च केही थिएन । नारायणघाटमा त्यहाँकाे समाजले १ छाक खान दिए । केही चाउचाउ र चिउरा मात्र छ । यही खाँदै हिँडेका छौँ । पानीसमेत राम्रोसँग पिउन पाएका छैनौँ,’ उनले भने ।

रोशनसँगै आएका प्रह्लाद विकले लकडाउनअघि नै घर जाने सोच बनाएका थिए । आमाको स्वास्थ्यमा समस्या आएको थियो । घरबाट बोलाउँदा पनि जान पाएका थिएनन् । त्यही बीचमा लकडाउन भयो । उनी पनि ललितपुरमै बसे । लकडाउन खुल्ने नखुल्ने केही टुंगो नभएपछि उनी पनि त्यही समूहमा मिसिएर सँगै घर जान हिँडे ।

Loading...
प्रकाशित मिति ६ बैशाख २०७७, शनिबार ०४:२८