कास्कीदेखि सल्यानसम्म हिँडेका मजदुरहरुलाई घर सम्म पुर्याउने व्यवस्था

गुल्मी । कास्कीदेखि आफ्नो घर सल्यान र दाङ हिँडेरै जान खोजेका २२८ जना मजदुरहरुलाई गुल्मीको रेसुङ्गा नगरपालिकाले बस खोजेर प्युठानको सिमानासम्म पठाएको छ । आईतार साँझ गुल्मीदरवार गाउँपालिकाले गाडीमा सदरमुकाम तम्घासमा ल्याएर छाडेपछि रेसुङ्गा नगरपालिकाले क्वारेन्टाईनमा राखेर खानको ब्यवस्था गर्दै राखेको थियो ।

सोमवार विहान पनि खानको ब्यवस्था गरेर रेसुङ्गाले प्युठानको सीमासम्म पठाएको हो । उनीहरुलाई क्वारेन्टाईन बाहिरको चौरमा अलग अलग राखेर मेयर डिल्लीराज भुसाल, उपमेयर सिता भण्डारी र प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बाटोलाई खाजा खर्च समेत उपलव्ध गराएका थिए ।

उनीहरुले यात्रा सुरु भएपछि बीचमा एक ठाउँमा प्रहरीले खाजा खान दिएको तर अरुले नहेरेको गुनासो गरे । हिडेको चार दिनपछि रेसुङ्गा नगरपालिकाले खान बस्नको ब्यवस्था गरेर आफुहरुका लागि सरकार पनि रहेछ भन्ने महशुस भएको उनीहरुले बताए ।

मेयर भुसालले आफ्नो पालिकाभित्र प्रवेश गर्ने जो सुकै नागरिकलाई भोकै र हिडाएर नपठाउने बताए । त्यस्तै गुल्मीको पुर्तिघाट र रुद्रवेणीबाट आफ्नो घर बाँके जिल्लामा जान हिडेका ४२ मजदुरहरुलाई रुरु क्षेत्र गाउँपालिकाले पनि बस चढाएर घर पठाएको छ ।

उनीहरु रिडी बसपार्क क्षेत्रमा अलपत्र परेका थिए । उनीहरुलाई घर पठाइएको रुरु क्षेत्र गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष रामलाल बिकले जानकारी दिए । सबै मजदुरहरुलाई त्यस गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम लगायतका जनप्रतिनिधीहरुले खाजा समेत दिएर पठाएका छन् ।

Loading...
प्रकाशित मिति ८ बैशाख २०७७, सोमबार १३:३९