मकवानपुरमा गुडिरहेको जीप र मोटरसाइकल पहिरोमा पुरिए, चालक र यात्रुको अवस्था अज्ञात

हेटौंडा । काठमाडौंबाट हेटौंडा आउँदै गरेको एक स्कार्पियो जीप पहिरोमा पुरिएको छ । पहिरोमा एउटा अर्को मोटरसाइकल पनि पुरिएको जानकारी प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कुलेखानी–भीमफेदी सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ देउरालीमा स्कार्पियो जीप पहिरोमा पुरिएको हो ।

मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलकुमारसिंह राठौरले गुडिरहेको बा १७ च ४८७४ नम्बरको जीपलाई पहिरोले पुरेको जानकारी दिए ।

पहिरोमा नम्बर नखुलेको अर्को एउटा मोटरसाइकल पनि पुरिएको जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ ।

घटनाको विषयमा जानकारी प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलतर्फ गएको एसपी राठौरले जानकारी दिए ।

जीप ठूला–ठूला ढुङ्गाले च्यापिएको अवस्थामा रहेको र उद्धारमा केही कठिनाइ उत्पन्न भएको एसपी राठौरले बताए । जीपका चालक भीत्रै च्यापिएको अवस्थामा देखिएका एसपी राठौरको भनाइ छ ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको जीप बुधबार बिहान करिब १० बजेतिर पहिरोमा पुरिएको सूचना प्राप्त भएको मकवानपुर प्रहरीको भनाइ छ ।

Loading...
प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार १७:३०