सार्है दुःखद खबर,वरिष्ठ बालरोग विशेषज्ञ डा. निलम अधिकारीको निधन

काठमाडौं । वरिष्ठ बालरोग विशेषज्ञ डा.निलम अधिकारीको निधन भएको छ । ७५ वर्षकी डा.अधिकारीको ग्वार्काेस्थित आफ्नै निवासमा निधन भएको वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.प्रकाशराज न्यौपानेले जानकारी दिनुभयो ।

स्तनको क्यान्सर भई १ वर्षदेखि अधिकारीले किमो गराउँदै आउनुभएको थियो । नेपालको चिकित्सा क्षेत्रमा डा.अधिकारीले धेरै योगदान गर्नुभएको र नेपालले एक अब्बल चिकित्सक गुमाएको न्यौपानेले बताउनुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,पाटन अस्पतालमा बालरोग विभागलाई सक्षम र व्यवस्थित बनाउन डा.अधिकारीको ठूलो देन रहेको न्यौपानेले जानकारी दिनुभयो। डा.अधिकारी पाटन अस्पतालबाट सेवा निवृत्त भएपछि बीएण्डबी अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । डा.अधिकारीलाई फोक्सोको समस्या पनि थियो ।

आफ्नो जीवनकालमा डा.अधिकारीले बिरामीको सेवामा अहोरात्र खटिनुभयो, निजीमा काम गर्दा पनि सरकारी अस्पतालको ड्युटी समय भन्दा बाहेकको समय मात्रै काम गर्नुहुन्थ्यो,डा.अधिकारीलाई स्मरण गर्दै डा.न्यौपानेले भन्नुभयो,लामो समयसम्म एउटै संस्थामा बसेर काम गर्ने डा.नेपालमा कमै हुनुहुन्छ ।

डा. अधिकारी खोप पश्चात् हुनसक्ने अवाञ्छित घटना अनुसन्धान समिति नेपालका अध्यक्ष तथा सुरक्षित खोपकाे विश्व सल्लाहकार समितिकी पूर्व उपाध्यक्ष समेत हुनुहुन्थ्यो ।

अधिकारीका श्रीमान्,एक छोरा र एक छोरी हुनुहुन्छ । डा. अधिकारीका श्रीमान् बालरोग विशेषज्ञ डा.रमेशकान्त अधिकारी हुनुहुन्छ ।

प्रकाशित मिति १८ कार्तिक २०७७, मंगलवार ०८:३९