दुई दिनदेखि भोकभोकै आमा र छोरीहरु

बर्दिया — सदरमुकाम गुलरियामा चाट बेचेर गुजारा चलाउँदै आएकी ३० वर्षीया सुशीला पासी छोरी काखमा च्यापेर वडा कार्यालयमा भक्कानो छोडेर रुन थालिन् । निकै बेरसम्म पासी रोएको देखेर उनकी डेढ वर्षकी नानी पनि रुन थालिन् । शुक्रबार दिउँसो १ बजे वडा नम्बर ६ स्थित कार्यालय बाहिर आमा–छोरी रोएको सुनेर वडा अध्यक्ष निरज शर्मा, सदस्य सुधांशु शर्मालगायत प्रतिनिधि कार्यकक्ष बाहिर आए। उनी रोएको समस्या बुझ्न जनप्रतिनिधीलाई निकै बेर लाग्यो।

भोकाएर गलेकी पासी बोल्न सकेकी थिइनन्। आफू र तीन छोरीले दुई दिनदेखि केही खान नपाएको बताइन्। बिहीबार बिहान छोरीहरुलाई अरुले दिएको खान खुवाएकीउनी आफू भने भोकै रहेको सुनाइन्। चाट बेचेर कमाइ गर्दे आएका श्रीमान मसला खरिद गर्न सिमावर्ती भारतको मिहीपुरुवा गएका थिए। लकडाउन पछि उनी गुलरिया आउन पाएनन्।

उनको कहालीलाग्दो अनुहार देखेपछि वडाका प्रतिनिधीले तत्काललाई छाक टार्न चामल, दाल, नुन र तेलको व्यवस्था गरिदिए। उनी जस्तै भारत लखिमपुर घर भइ गुलरिया—५ मा बस्दै आएका राधेश्याम कुर्मी मिठाइ बनाउने कारीगर हुन्। लकडाउनले रोजगारी गुमेपछि केही दिन छिमेकीसँग मागेर खाना खाएको बताए। अहिले श्रीमतीसहित भोकै बस्न बाध्य भएर वडा कार्यालयमा आएकाछन्।

गुलरिया—६ का आशरानी शाह कब्बर खनेर गुजारा चलाउँदै आएका थिए। लकडाउनले बाहिर जाने अवस्था नभएपछि कब्बर खन्ने काम रोकिएको छ। वडा कार्यालयका वडा अध्यक्ष शर्मा र सदस्य सुधांशुले भोकै बसेकाका लागि चामल, दाल, तेल र नुन व्यक्तिगत रुपमा खरिद गरि वितरण गरेका छन्। गुलरिया नपाको सबैभन्दा बढी वडा नम्बर ६ मा दैनिक ज्यालादारी गरि काम गर्ने मजदुर करिब २ सय छन्। तीमध्ये ५० जना टाँगा चलाएर परिवार पाल्दै आएका छन्। लकडाउन पछि टाँगा चल्न बन्द भएको छ।

Loading...
प्रकाशित मिति ६ बैशाख २०७७, शनिबार ०७:५०